काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । थाइल्याण्डको बैंकक र निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांष्कृतिक विकासमा दुई मुलुक सँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ ।
नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले सिधा हवाई उडानमा जोड दिए । श्रेष्ठले नवनियुक्त राजदूतको कार्यकालको सफलताको कामना गर्दै नेपाल थाइल्याण्डबीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको सभावनालाइ उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवद्र्धनका लागि व्याङकक लुम्विनी वीच सीधा हवाइ सम्पर्कका लागि पहल गरिनु पर्ने धारणा राखे।
अध्यक्ष श्रेष्ठले नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोवल टेण्डरमा थाइ निर्माण कम्पनीहरुलाइ सहभागी गराउन आग्रह गरे । नेपालको पर्यटन, कृषी, तथा जडीवुटी उद्योग लगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने उनको भनाइ छ । थाइल्याण्ड वुद्धमार्गीहरुको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाईल्याण्ड बिच वुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको लागि थाइ पर्यटन वोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने भएकाले यसको लागि पहल गरीदिन उनले आग्रह गरे ।
पूर्वी एशियाको उदीयमान अर्थतन्त्रको रुपमा थाईल्याण्डले आर्थिक बिकास तिव्र रुपमा गरिरहेकोमा अध्यक्ष श्रेष्ठले प्रशंसा गरे । थाईल्याण्डले नेपालको कृषि पर्यटन, र व्यापारलाई आधुनिकीकरणमा उल्लेखनीय योगदान दिनसक्ने उनको भनाइ छ । कार्यक्रममा उपस्थित चेम्बरका पदाधिकारीहले नेपाली व्यवसायीहरुलाई भिसा प्रक्रियामा सरलीकरण तथा थाइल्याण्डबाट नेपालमा उच्च प्रविधियुक्त स्वास्थ्य क्षेत्रमा लगानीको लागि आग्रह गरेका थिए ।
थाईल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरुसँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्वन्ध विस्तारका लागि पहलगर्ने बताए । कोभिड महामारी समाप्तीपश्चात दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरुको पारस्पारिक व्यावसायीक भ्रमण हुनेमा आशान्वित रहेको बताउँदै पर्यटन क्षेत्र बिस्तारका लागि वुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्विनी वीचको सीधा हवाई सम्पर्कलाइ सकारात्मक रुपमा लिएकोे बताए । नेपाल र थाइल्याण्ड बीम्स्टेकको सदस्य राष्ट्र भएको दुइ मुलुकबीच आर्थिक सम्वन्ध बिस्तारका लागि प्रशस्त सम्भावना रहेको उनले बताए ।
स्वागत कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्वय कमलेशकुमार अग्रवाल, दिपककुमार मलहोत्रा एवं कार्य समितिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।




