समाचार

कोभिड संक्रमणसँगै सरकारी र निजी अस्पतालमा घट्दै बिरामी

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट सुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो ।

महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा बिरामीको सङ्ख्या घटेको हो । कोभिड–१९ को संक्रमण हुनुपूर्व दैनिक दुई हजार ५ सय हाराहारीका बिरामीलाई बहिरङ्ग सेवा (ओपिडी) प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक एक हजार ५ सय हाराहारीमा मात्र बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी अस्पतालमा पुगेपछि कोरोना संक्रमण दर फैलिने डरका कारण पनि बिरामी घरमै बसेकाले अस्पतालमा बिरामीको सङ्ख्या घटेको बताउँछन् । छ सय ६२ शय्याको यस अस्पतालले कोभिड–१९ को बिरामी उपचारका लागि १ सय शय्या छुट्याएको थियो । यस अस्पतालले सरकारले बन्दाबन्दी गरेको समयमा पनि सबै सेवा प्रदान गरेको थियो ।

कोभिड–१९ संक्रमण अगाडि विभिन्न रोगका दैनिक ४० वटासम्म शल्यक्रिया गरेको टिचिङले अहिले जम्मा १० वटासम्म शल्यक्रिया गर्दै आएको छ । यस्तै सुत्केरी महिलाका लागि भने नियमित शल्यक्रिया र प्रसूति सेवा प्रदान गरिएको थियो । विभिन्न संघसंस्था तथा सरकारी सहयोगका कारण कोभिडको उपचारमा यस अस्पतालले कुनै पनि समस्या भोग्न नपरेको प्रवक्ता अधिकारीको भनाइ छ ।

चार सय ६० शय्या रहेको वीर अस्पतालले कोभिड–१९ का बिरामीका लागि १ सय ६० शय्या छुट्याएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय बिरामी घटेसँगै कोभिड शय्यासमेत घटाएको छ । अस्पतालका नर्सिङ डाइरेक्टर गोमादेवी निरौला वीर अस्पतालले एकैपटक १ सय २० कोभिड बिरामीको उपचार गरेको बताउँछन् । “चाहिएको बेलामा स्वास्थ्य सामग्री नपाउँदा उपचारमा समस्या भयो”, उनी भन्छिन् ।

वीर अस्पतालमा कोभिड–१९ संक्रमण हुनुपूर्व दैनिक दुई हजार हाराहारीमा बहिरङ्ग सेवाका लागि जाने गरेका थिए । कोभिड संक्रमणका समयमा ओपिडी सेवाका लागि दैनिक २ सय बिरामी जाने गरेकामा अहिले विस्तारै बढेर एक हजार हाराहारी जाने गरेको अस्पतालले जनाएको छ ।

निजी लगानीमा सञ्चालित अस्पतालले भने कोभिड–१९ को समयमा प्रभावकारी रुपमा सेवा सञ्चालन गर्न सकेनन् । टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिडको समयमा बिरामी नहुँदा केही सेवा सञ्चालन गर्न नसकेको बताएको छ । सो अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड संक्रमणसँगै बिरामी नहुँदा सबै किसिमका उपचार सञ्चालन गर्न नसकेको बताउँछन् ।

ग्राण्डीले कोभिडको समयमा रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुस ४ गते शनिबारदेखि पुनः सञ्चालन गरेको छ । ग्राण्डीले अहिलेसम्म ५७ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको जनाएको छ । दुई सय शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोभिड संक्रमण सुरु हुनुपूर्व दैनिक ५ सयदेखि ७ सयसम्म ओपिडी सेवा प्रदान गर्दै आए पनि हाल दैनिक २ सयदेखि ३ सय बिरामी आउने गरेका छन् ।

निजी लगानीमा सञ्चालित अस्पतालले कोभिड–१९ को बिरामीको उपचार कम गरे पनि ग्राण्डीले भने ५४ शय्या छुट्याएर भेन्टिलेटर, सघनउपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गर्दै आएको छ । ग्राण्डीले हालसम्म ३ सय ३० कोरोना संक्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको जनाएको छ ।

कोभिड संक्रमणको समयमा ग्राण्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड–१९ अगाडि मासिक ४ सय व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको यस अस्पतालले कोभिड सुरु भएसँगै महिनाको १ सय हाराहारीमा मात्रै शल्यक्रिया गरेको छ ।

कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महङ्गो शुल्कमा खरिद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको महाप्रबन्धक सिंहको भनाइ छ । सरकारले कोभिड–१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको निजी अस्पतालका सञ्चालकहरु बताउँछन् ।

कोभिड–१९ का कारण बिरामीको सङ्ख्या घट्दा स्वास्थ्य सामग्री बिक्रीवितरणसमेत घटेको छ । दुई वर्षदेखि काठमाडौंको सामाखुशीमा स्वास्थ्य सामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिको प्रालिले कोभिड–१९ का कारण अस्पतालमा स्वास्थ्य सामग्री बिक्रीवितरण घटेको बताएको छ । प्रालिका निर्देशक बद्रीनाथ घिमिरे कोभिडबाहेक अरु रोगका बिरामी अस्पताल नजाँदा स्वास्थ्य सामग्रीको बिक्रीवितरण घटेको बताउँछन् । कोभिडपछि बिरामीको चाप कम हुँदा स्वास्थ्य सामानको माग कम आउने गरेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *