चन्द्रौटा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारले सत्यतथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह गरेका छन् । मंगलबार पत्रकार महासंघ कपिलवस्तु शाखाको वाणगङ्गामा निर्माण भएको भवनको उद्घाटन गर्दै अध्यक्ष आचार्यले सूचना जनतासम्म पुर्याउने दायित्व पत्रकारको रहेकाले विचल्लित नहुन आग्रह गरे ।
पत्रकारिता सधैँ जनताको पक्षमा रहने भएकाले जनताको आवाज बोल्न सबै पत्रकारलाई अध्यक्ष आचार्यले आग्रह गरे । अन्य जिल्लाको तुलनामा कपिलवस्तुमा मिडिया विकासदेखि भौतिक संरचना बढी रहेकाले कार्यसमितिलाई धन्यवाद दिरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वसन्त गिरीले कोरोनाका कारण अर्थतन्त्रमा परेको असले पत्रकारको अवस्था जटिल बनिरहेको बताए । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालले पत्रकारलाई आचारसंहितको विषयमा जानकारी गराएका थिए ।
पछिल्लो समयमा सञ्चारमाध्यमले आचासंहिताविपरीत गरेका उजुरी बढेकाले पत्रकारले आफ्नो गरिमालाई ध्यानमा राख्न आग्रह गरे । पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तुका तीन स्थानमा पत्रकार महासंघको भवन निर्माण भएको बताए । भवन निर्माण पछि पत्रकारका गतिविधि गर्न सहज हुने विश्वास व्यक्त गरे ।




