काठमाडौं । साउदी अरबको आन्तरिक मन्त्रालयले आजबाट लागु हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ । सो कुरा साउदी स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत आफ्नो सूचनामा उल्लेख छ ।
यसैगरी साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड(१९) संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।
यो आदेशको उल्लङ्घन गर्ने विरुद्ध साउदी रियाल १५ हजार सम्म जरिवाना हुने जनाएको छ । तसर्थ, सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ ।




