समाचार

राष्ट्रपति र प्रधानमन्त्रीले चालेको स्टेप नैतिक रूपमा मिलेको छैन : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका गतिविधि राजनीतिक र नैतिक रूपमा नमिलेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाको विघटन संवैधानिक र राजनीतिक रुपले गलत रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सोमबार् परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्बोधन गर्दै उनले भने, ‘मलाई हिजोको घटनाले मर्माहत र दुःखी बनाएको छ, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन ।’

संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले देशवासीले राष्ट्रपति संस्थामाथि नै प्रश्न उठाएको प्रथम राष्ट्रपतिको भनाइ थियो ।

राष्ट्रपतिको पदमा बस्ने व्यक्ति उत्तरदायित्व पूरा गर्न चुकेको उनले औंल्याए । ‘अहिलेका सम्माननीय राष्ट्रपति र प्रधानन्त्रीले हस्ताक्षर गरेर दिएको संविधान मैले जनताका लागि अर्पण गरेको हुँ,’ उनले भने, ‘अहिले राष्ट्रपतिको संस्थालाई चोट पुगेको छ । आशा र विश्वास गर्छु । यसमा सम्मानित सर्वोच्च अदालतको ध्यान पुगोस्, पुग्नै पर्छ । मेरो विनम्र अनुरोध पनि गर्छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *