कोशी प्रदेश

‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताका छन् ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा रु आठ करोडको लागतमा विराटनगर–१० मा एचडियु र अक्सिजनसहितको थप १०० श्ययाको कोभिड अस्पतालको आज उद्घाटन गर्दै उनले कोरोनाको उपचारको काममा निजी अस्पतालले नागरिकको घरवाससमेत उठाएकाले गुणस्तरीय निःशुल्क उपचारका लागि अस्पतालको निर्माण गरिएको बताए ।

मुख्यमन्त्री राईले कोराना सङ्क्रमित जनताले अक्सिजनको अभाव र सहज उपचार उपलब्ध नहुँदा अकालमै ज्यान गुमाउनु परेकामा दुःख व्यक्त गदै नौलो सोच र छोटो समयमा कोभिड अस्पतालको भौतिक संरचना निर्माणबाट उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले संविधान निर्माण एवं सङ्घीयतामा निजी क्षेत्र राष्ट्रको एउटा खम्बा भएकाले राष्ट्र निर्माणमा सहकार्य गर्न सकिन्छ भन्ने उदाहरण नवनिर्माण भएको कोभिड अस्पतालको सफल प्रयोग भएको बताए । उनले कोरोना महामारीबाट नागरिकको उपचारका सम्बन्धमा समाजमा रहेको विभेद् अन्त्य गरेको उल्लख गर्दै अस्पताल निर्माणमा राजनीतिक स्वार्थबिना सबै पार्टी, नागरिक समाज आपसमा मिलेर अस्पतालमा तयार गरेको विचार व्यक्त गरे ।

सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै सराहनी कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त राख्न आग्रह गरे । उनले कोरोनाको जोखिम हटेपछि विशिष्टकृत अस्पतालका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसका लागि आवश्यक पर्ने सहयोग सङ्घीय सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अस्पताल निर्माण निजी क्षेत्रको सहयोगमा अनुकरणीय कार्य भएको चर्चा गर्दै कोरोना सङ्क्रमित अक्सिजनबिना छट्पटाउने भएकाले अब सहज उपचार सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *