बनेपा । भूकम्प गएको करिब पाँच वर्षपछि यहाँका भूकम्प लाभग्राहीका लागि ‘एकीकृत नमूना बस्ती’ निर्माणका लागि शिलान्यास गरिएको छ ।
काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौंरी देउराली गाउँपालिका–२ नाग्रेगगर्चेस्थित दूतिमा भूकम्प गएपछि झन पहिराका कारण जोखिममा रहेका २१ घरपरिवारलाई भूकम्प प्रतिरोधी घर निर्माणको कार्य प्रारम्भ गरिएको हो ।
शनिबार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शिलान्यास गरेको सो तामाखानी एकीकृत नमूना बस्ती एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । भूकम्प गएदेखि चर्केका घरमा सामान राखेर नजिकै बनाइएका छाप्रोमा बस्दै आएका यहाँका भूकम्प लाभग्राही एकीकृत बस्ती निर्माणको कार्य प्रारम्भ भएकामा निकै खुशी छन् । भूकम्प लाभग्राही मीनबहादुर तामाङले भूकम्प गएदेखि नै त्यही चर्केको घर नजिकै छाप्रो बनाएर बस्दै आएकामा अब पक्की घरभित्र बस्ने लामो समयदेखिको आशा पूरा हुने बताए ।
अर्का लाभग्राही चन्द्रबहादुर लवटले १४५ घरधुरी रहेकामा जोखिम बस्तीमा रहेकाको छानबिन गर्दै जाँदा अन्तिममा २१ घरपरिवार मात्रै छनोट भएपछि अहिले बल्ल बस्ती निर्माणको काम थालनी भएको भएको बताए । समयमा घर निर्माण गर्न नपाउँदा अहिले पनि छाप्रोमा नै बस्दै आएको उनले दुखेसो पोखे ।
राज्यमन्त्री मानन्धरले एकीकृत नमूना बस्ती शिलान्याससँगै निर्माण कार्य अगाडि बढिसकेकाले छिट्टै सम्पन्न हुने बताए । त्यसका लागि सबै तहका सरकारलाई सहयोग गर्न नागरिकस्तरबाट नै सहयोग गर्न उनले आग्रह गरे ।
वाग्मती प्रदेशसभा सदस्य रत्न ढकालले एकीकृत बस्ती निर्माण कार्य प्रारम्भ भइसकेकाले समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गरे । तामाखानीको ३९ रोपनी १३ आना जग्गा व्यवस्थापनको काम सकेपछि २१ घर परिवारका लागि घर निर्माण प्रक्रिया शुरु भएको हो । वडाध्यक्ष दिनेश लामाले अब बन्ने घर नमूना हुने बताए ।
संस्कृतिमैत्री बस्ती बन्ने
तामाखानीमा बन्न लागेको २१ घर सँस्कृतिमैत्री हुनेछन् । बाह« घर नेवार र नौ घर तामाङ परिवार रहेन सो बस्तीमा दुवै समुदायको संस्कृति झल्कने गरेर निर्माण गरिने वडाध्यक्ष लामाले बताए ।
उनका अनुसार सो एकीकृत नमूना बस्तीको बीचमा सामुदायिक भवन, बाटो, खानेपानीका धारा, शिव मन्दिर र स्तुपा तथा पार्कलगायतका अन्य संरचना पनि निर्माण गरिने छन् ।
एकीकृत बस्तीमा एक घरमा रु चार लाख लागत अनुमान गरिएको छ भने बाटो तथा पूर्वाधार निर्माणका लागि रु ८४ लाख विनियोजन गरिएको छ । आगामी असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने योजनाअनुसार प्रक्रिया अगाडि बढाइएको छ ।




