सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छन् । एकसय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।
उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरे । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।
राष्ट्रिय समाचार समिति (रासस)बाट गत मंसिर २२ गते ‘सय वर्ष पार गर्दा पनि छैन नागरिकता’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले समाचार पढेपछि आफूले वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेको जानकारी दिए ।
“आवश्यक कागजपत्रसहित ती आमालाई पत्ता लगाएर जिल्ला प्रशासन कार्यालयमा लिएर आउन आग्रह गरेकामा आज आएकाले नागरिकता प्रदान गरेका हौँ ।” उनले भने, “विसं १९७४ माघ १५ गते जन्मिएकी छत्रमायाले १ सय ३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।” नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित भएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ ।
पाँच वर्षअघि छत्रमायाका श्रीमान्को निधन भएको थियो । यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आएको बताइएको छ ।




