कोशी प्रदेश

इटहरीमा कांग्रेसद्वारा महाधिवेशनको पूर्वतयारी शुरु


इटहरी । नेपाली कांग्रेस, इटहरीले महाधिवेशनको पूर्वतयारीको कार्य शुरु गरेको छ । इटहरी कांग्रेसले उपमहानगरपालिका भित्रका २० वटै वडाका क्रियाशील सदस्य नविकरण गर्ने कार्य ३ दिनभित्र सम्पन्न गर्ने गरी महाधिवेशनको तयारी शुरु गरेको हो ।
नगर सभापति हेमकर्ण पौडेलको अध्यक्षतामा सम्पन्न जिल्ला अनुगमन प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, नगर, वडा र भातृसंघसंस्थाका अगुवा नेता कार्यकर्ताहरुको भेलामा वडाले तीन दिनभित्र सदस्यता नविकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अनुगमन प्रतिनिधि तथा सहसचिव नगेशचन्द्र राईले बताए ।
आगामी फागुनमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका कोभिड १९ का कारण प्रभावित भएपनि फागुनमा स्थानीय तह सम्मको भएपनि अधिवेशन प्रारम्भ हुन सक्ने भएकाले सुनसरी जिल्ला कार्यसमितिले पौष ७ गतेभित्र सदस्यता नविकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेबमोजिम सहजीकरण र अनुगमनका लागि प्रतिनिधि खटी आएको जिल्ला अनुगमन प्रतिनिधि तथा जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोले तामाङले उक्त भेलामा बताए । उनले पार्टी छाडी गएका, वाघी उम्मेदवार र उनको प्रस्तावक तथा समर्थक बसेका, पटकपटक आग्रह गर्दा पनि नविकरण गर्न इन्कार गर्ने बाहेक सबैको तोकिएको शूल्क लिई नविकरण गर्न आग्रह गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमका सदस्यहरुको नविकरण फाराम सट्टापट्टा नहुनेगरी अलग अलगै भर्न समेत उनले प्रष्ट्याएका छन् ।
जिल्ला सचिव केदार भण्डारीले क्रियाशील सदस्यता सम्बन्धि कुनै गुनासो उजुरी नपर्ने गरी निर्विवाद ढंगले नविकरण गर्न र फाराम अपुग भएमा जिल्लाले थप फाराम उपलब्ध गराउने बताए । सभापति हेमकर्ण पौडेलले नविकरण शुल्क र तोकिएको लेवी सक्नेले अनिवार्य बुझाउन र पार्टी सञ्चालनमा सहयोगका साथै पार्टीप्रति माया लाग्ने गरी र अपनत्व महशुस हुनेगरी प्रत्येक क्रियाशील सदस्यले हरतरहको योगदान गर्न तथा आआफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *