धर्म/सस्कृति

कोत मन्दिरमा अब पशुपक्षी बलि दिन नपाइने

बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँस्थित कोत मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाइएको छ । कोतमा आगामी चैत ३० गतेपछि बलि चढाउन नपाइने भएको हो ।

यसअघि गरेको बलिको भाकल भए तोकिएको समयभित्र पूजाआजा गर्न वडा कार्यालयले सार्वजनिक सूचनामार्फत जनसाधारणमा अनुरोध गरेको छ । जनप्रतिनिधि, कोत सञ्चालक समिति, सन्त, पुजारी, गाउँका भद्रभलाद्मीसहितको भेलाले बलि प्रथा हटाउने निर्णय गरेको वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए ।

पशुपक्षीको बलि दिने परम्परालाई हटाइ परापूर्वदेखि चलेको वैदिक विधिपूर्वक सात्यिक पूजा गरिने उनको भनाइ छ । “कतिपय कोतमा बलि नदिइ पूजै हुँदैन तर हाम्रो कोत मन्दिर त्यस्तो होइन”, अध्यक्ष कँडेलले भने, “पूर्वजहरुले पनि सात्यिक पूजा चलाउँथे, पछि आएर बलि दिने प्रथा सुरु भएको थियो, अब त्यो अन्त्य हुन्छ ।”

बिहुँमा एकै ठाउँमा दुई कोत मन्दिर छन् । दुवै कोतलाई ‘बिहुँकोट’ भनेरसमेत चिनिन्छ । धर्मका नाममा मन्दिर र कोतघरमा दिइने बलिको पशुपक्षी अधिकारकर्मीले समेत विरोध गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *