समाचार

गोकुल बास्कोटाको आवाज अख्तियारकै घर्रामा

पूर्वमन्त्री गोकुल बाँस्कोटासामु स्विस सेक्युरिटी प्रेस छपाइ कम्पनीको एजेण्ट भएर रकमको सौदाबाजी गर्न पुगेका विजय मिश्रसँग सम्बन्धित सबुतलाई अख्तियारले आफ्नै घर्रामा राखेको छ ।
हल्ला भएजस्तो, गोकुललाई चोख्याउन रातारात फाइल अगाडि बढाइँदै गरेको कुरा सत्य नभएको अख्तियार स्रोतले बतायो । तयारी थियो उक्त अडियोलाई नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएर विश्वसनीयता प्रमाणित गराउने । तर, यो पंक्ति लेखिरहँदासम्म अडियो अख्तियारमै छ ।

अख्तियारले विजय मिश्रलाई बयानका लागि बोलाउँदा उनले जुन मोबाइल सेटमा गोकुलसँगको संवाद रेकर्ड गराएका थिए, त्यो बुझाएका छन् । गोकुल र विजयबीच बाहिर सार्वजनिक भएजतिमात्र संवाद भएको हो ? वा त्योभन्दा फरक वा बढी केही कुरा भएका छन् कि ? वा, संवाद नै बनावटी (क्यारिकेचर गरिएको) हो ? यस्ता कोणबाट अख्तियारले छानवीन गर्ने तयारी थालेको हो ।

अडियोको त्यस्तो परीक्षणपछि बल्ल वास्तविकता सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनायो ।
उता, पोलिमर नोट प्रकरणमा अनियमितता भएको भनी अख्तियारमा चलेको मुद्दा नौ वर्षपछि टुंगोमा पुगेको छ । विशेष अदालतबाट भएको आदेशउपर पुनरावेदन नगर्ने निर्णयसँगै यो प्रकरणको किनारा लागेको हो । राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. तिलक रावल, नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौड्याल र अष्ट्रेलियाको मे फ्लावर लिमिटेडका स्थानीय एजेण्ट हिमालयबहादुर पाँडेले जनही ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेको भनी ०६८ सालदेखि अख्तियारमा मुद्दा थियो । १० रुपैयाँका पोलिमर नोट छपाई प्रकरणसँग यो मुद्दा सम्बन्धित थियो ।

उनीहरुलाई ६ वर्षसम्म कैद र ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ नै जरिवाना तिराउनुपर्ने मागदाबी थियो । डा। रावलसहितका प्रतिवादीले नोट छपाउन दिँदा राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराएर हानी पु¥याएको आरोप थियो । अष्ट्रेलिया सरकारले मे फ्लावर लिमिटेड नामक कम्पनीका मानिसहरुलाई यही प्रकरणमा मुद्दा चलायो । थुन्यो । र, पछि अनियमितता नभएको ठहरसहित उनीहरुलाई क्षतिपूर्ति दिएर मुक्त गरायो ।

मुद्रक कम्पनीले नै सफाई पाइसकेपछि यताबाट काम दिने पक्षले अनियमितता ग¥यो भन्ने कुराको पुष्ट्याइँ नहुने भनी विशेष अदालतले फैसला गरेको थियो । तर, त्यसउपर सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने एकथरि सरकारी वकिलको राय, अर्काथरिको चाहिँ विदेशको अदालतले निर्दोषिता प्रमाणित गरिसकेपछि फेरि यताबाट किन दुःख दिने भन्ने तर्क । अन्ततः अख्तियार पुनरावेदनमा नजाने भर्खरै टुंगो लागेको छ ।

त्यस्तै, अहिले अख्तियारको हिरासतमा पाँचदेखि आठ हजार घुसकाण्डका केही बाहेक ठुल्ठूला मुद्दाका थुनुवा छैनन् ।

उता, स्टिङ अपरेशनमा बद्नाम भएको अख्तियारलाई त्यस्तो काम रोकियोस् भनी दायर मुद्दाउपर जवाफ पेश भएको छ । उसले भ्रष्टाचारीलाई आफैँ खोज्न जाने नभई सेवाग्राहीको उजुरी आएपछि अनुसन्धान थालिने बताएको छ । रिट हाल्नेहरुले पैसा देखाएर लिऊँलिऊँ बनाएपछि फन्दामा पारिन्छ भन्ने आरोप लगाएका छन् तर अख्तियारले भनेको छ, अनुसन्धानबाट ऊ भ्रष्टाचारी हो भन्ने खुलेपछि सबुत बरामदका क्रममा मात्रै त्यस्तो गरिन्छ । अर्थात्, पाँच लाख घूस मागिन्छ । त्यही पैसा बरामद भयो भने दिनेलाई मर्का पर्ने भयो ।

किनभने, मुद्दा चलुञ्जेल त्यो पैसा पीडितको हातमा पर्दैन । त्यसमाथि अदालत सेटिङ गरेर आरोपीले मुद्दा जिते भने पैसा फर्किंदैन । त्यसैले अख्तियारले पैसा बोकेर हिँड्नु पर्ने बाध्यता अदालतसमक्ष पेश गरिएको छ । स्टिङ अपरेशन हुनुअघि दुईबीच कुराकानी हुन्छ । त्यसलाई अख्तियारले आफ्नै कार्यालयमा जडित प्रणालीबाट रेकर्ड गर्छ वा पीडितलाई मोबाइलमा रेकर्ड गर्न लगाइन्छ । केही दिनदेखि पीडकको गतिविधि अध्ययन भएको हुन्छ । मामुली घटनामा उजुर गर्न जाने सेवाग्राहीलाई फोन रेकर्ड गर भनिएको हुन्छ ।
– जनआस्थाबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *