काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले एक महिनापछि कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । कोरोनामुक्त भएपछि उनले पहिलो पटक धन्यवादसहितको सन्देश जारी गरेका छन् ।
कोरोनाको महामारीपछि अस्पतालमा ३६ दिनको जीवन मरणको संघर्ष र त्यसपछि घर फर्केको १६ दिनपछि उनले सामाजिक सञ्जालमा उपस्थिति जनाउँदै आफ्नो रोगको संघर्षबारे जानकारी गराएका हुन् ।
उनले लेखेका छन्,
कोभिड(१९ बाट संक्रमित भई पहिले कार्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भएपछि ११ गते राति ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याइएको थिएँ । वरिष्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एवं आत्मीय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समूहसँगै अति स्नेही सेवा गर्ने नर्शहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु ।
उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेरबहादुर देउवा, पार्टी पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु एवम् केन्द्रीय सदस्यहरु, प्रमुख सचेतक मा। बालकृष्ण खाणको सक्रियता र योगदान अविश्मरणीय मात्रै होइन हृदयस्पर्शी पनि भएको पाएको छु । साथै नेपाली कांग्रेस पार्टीका विभिन्न तहका नेता एवं कार्यकर्तासाथीहरुले व्यक्त गरेको शुभेक्षाले मेरो मनोबल उच्च बनाएको छ ।
शुरुकै अवस्थादेखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि क्रियाशील हुनु हुने सम्माननीय सभामुख, माननीय सांसदहरु, कानुन समिति सभापति र संसदका महासचिवलगायत सबै कर्मचारी मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । मेरो स्वास्थ अवस्था जटिल बन्दै जाँदा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक संगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपूर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारी दवावले मलाई उद्देलित गराउँदै थप हौसला बढाएको छ ।
साथै जीवन र मृत्युको दोसाँधमा हुँदा नेपाल सरकार, महामहिम राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, मा। स्वास्थ मन्त्री लगायत मा। मन्त्रीहरु एवं माननीय सुभाष नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयास र योगदानले मलाई भावुक बनाएको छ । म ग्रान्डी अस्पतालको आइसीयू र भेन्टिलेटरमा अचेत अवस्थामा मृत्युसँग लडिरहँदा मेरो स्वास्थ अवस्थाबारे हरपल चासो राखी संचारमाध्यमबाट निरन्तर सूचना प्रवाह गर्ने सबै प्रिय संचारकर्मीसाथीहरु, मलाई बचाउन स्वदेश तथा विदेशबाट भगवानसँग प्रार्थना गरी आस्था बमोजिम पूजा गर्ने सम्पूर्ण मेरा प्रिय साथीहरु, परिवार एवं आफन्तजनप्रति हार्दिक नमन गर्दछु ।
अन्त्यमा, ३६ दिनको अस्पताल बसाईपछि घर आएको पनि आज १६ दिन भयो । अझै लगातार बोल्न र हिँड्न सकिरहेको छैन । अतस् लामो समयपछि आजदेखि सामाजिक संजालमा उपस्थित भएको छु । फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु ।




