समाचार

गोकर्ण शहीद स्मारकमा युनेस्को सङ्ग्रहालय ग्राम बन्ने

काठमाडौं । राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) निर्माण स्थलमा युनेस्को सङ्ग्रहालय ग्राम यज्ञडोल (जगडोल) सामुदायिक वन परियोजना एकाइ कार्यालयको शुभारम्भ गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग र शहीद स्मारकको संयुक्त प्रयासमा ग्राम निर्माण गर्न लागिएको हो । शहीद स्मारक निर्माणस्थलको ६ सय ५० रोपनी जग्गामा ग्रामसहित युनेस्को सङ्ग्रहालय बनाइनेछ ।

कार्यालयको उद्घाटन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा युनेस्को ग्राम निर्माण गर्नु महत्वपूर्ण काम हुने बताए । शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा ग्रामले अनुसन्धानका लागि काम गर्ने पनि उनले जानकारी दिए । परियोजना कार्यालयका माध्यमबाट नागरिकलाई सीप सिकाएर स्वरोजगार नागरिक उत्पादन गर्ने लक्ष्यसमेत कार्यालयले राखेको मन्त्री पोखरेलको भनाइ थियो ।

सो अवसरमा उनले एकाइका विषयमा जानकारी दिन कार्यविधिलगायत सामग्री समावेश गरिएको पुस्तकसमेत विमोचन गरे । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या–पर्यटन व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देललगायतले शहीद स्मारकसँगै ग्राम निर्माण गरेपछि गोकर्णेश्वर क्षेत्रलाई धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिनेमा जोड दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *