समाचार

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार

काठमाडौं । नेकपाको स्थायी कमिटीले संवैधानिक परिषद्‌सम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने र संसद्‌को विशेष अधिवेशन बोलाउन भन्दै नेकपाकै केही सांसदहरूले राष्ट्रपतिसमक्ष गरेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको नेताहरूले बताएका छन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्को मङ्गलवारको बैठकमा नियुक्ति सिफारिसबारे कुनै निर्णय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएको बताए।

अध्यादेशले चर्काएको विवादका बीच बुधवार नेकपाका दुई अध्यक्षबीचको सहमति र स्थायी कमिटी बैठकपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार भएको बताइएको छ।

संवैधानिक निकायहरूमा रिक्त पदहरूमा नियुक्ति गर्न परिषद्को बैठक मङ्गलवार बिहान बस्न नसकेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी भएको थियो। तर नेकपाका प्रचण्डसहित वरिष्ठ नेताहरू र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले अध्यादेशको विरोध गरेका थिए।
– बिबिसीबाट साभार

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *