दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ छिम्केश्वरी । समुद्री सतहबाट दुई हजार १ सय ३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माईको मन्दिर छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित यस ठाउँमा नयाँ वर्ष र फागु पूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गरेको छ ।
धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यस ठाउँ ओझेलमा परेपछि आँबुखैरेनी गाउँपालिकाले यसको प्रबद्र्धनका लागि पहल थालेको छ । गाउँपालिकाले मंसिर ५ गते कार्यपालिकाको बैठक नै यसै ठाउँमा सम्पन्न गरेको छ । उक्त बैठकले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि थप रु १५ लाख बजेटसमेत विनियोजन गरेको छ ।
गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो । मन्दिर पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको छ । छिम्केश्वरीको पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले विशेष अभियान नै सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । “छिम्केश्वरीको जति प्रचारप्रसार हुनुपर्ने हो त्यो नभएको सबैलाई महसुस भएको छ, कसरी यसको महत्व सबै माझ पु¥याउन सकिन्छ भन्ने सोचका साथ गाउँपालिका लागिपरेको छ ।” छिम्केश्वरीको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएपनि कोभिडको कारण उक्त महोत्सव स्थगित भएको थियो । “सञ्चारमाध्यममार्फत र सामाजिक सञ्जालमार्फत् छिम्केश्वरीको धार्मिक र पर्यटकीय महत्व प्रचारप्रसार गर्ने सोच बनाएका छौँ”, पोख्रेलले भने ।
छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित गाउँपालिका अगाडि बढेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । धार्मिक पर्यटन विकासका लागि गाउँपालिकाले यहाँ पूर्वाधार निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्दै आएको उनले बताए । “यातायातको असुविधाले पनि छिम्केश्वरीको महत्व ओझेलमा परेको महसुस भएको छ”, थापाले भने, “सञ्चारमाध्यममार्फत पनि यसको महत्व प्रचारप्रसार गर्न सकिए यस ठाउँ धार्मिक पर्यटनको केन्द्र बन्नेमा कुनै दुई मत छैन ।”
आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपी, सैपाल, धौलागिरी, अन्नपूर्ण, मनास्लु र बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
बीस वर्षदेखि मन्दिरमा पुजारीका रुपमा रहेका धनराज गुरुङले मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन दर्शनका लागि आउने गरेको जानकारी दिए । “कोभिडका कारण अहिले दर्शन गर्न आउने कम छन्”, उनले भने, “कोभिड अगाडि दैनिक ५० देखि एकसयसम्म भक्तजन आउने गर्दथे ।”
आकाशे पानीको भरमा मन्दिर पुनर्निर्माण
छिम्केश्वरी मन्दिर आकाशे पानीको भरमा पुनर्निर्माण भइरहेको छ । छिम्केश्वरीको डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षदेखि मन्दिर पुनर्निर्माणको काम सुरु गरिएको छ ।
मन्दिर जीर्ण भएपछि गाउँपालिकाले गत वर्षबाट मन्दिर निर्माणको काम सुरु गरे पनि भौगोलिक विकटताका कारण काममा ढिलाइ भइरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । “पानीको स्रोत नभएपछि प्लाष्टिक पोखरी बनाएर पानी सङ्कलन गरेका छौँ, सोही पानीको प्रयोगबाट मन्दिर निर्माणको काम भइरहेको छ,” उनले भने, “निर्माण सामग्री पनि बोकेरै लैजानुपर्ने भएका कारण समस्या भएको हो ।” थापाले चालु आर्थिक वर्षभित्रै मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।
पैदलमार्ग र रेलिङ निर्माण
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४ सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष २०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भएको छ ।
छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङले सिढी निर्माण भएसँगै छिम्केश्वरी माई मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज भएको जानकारी दिए । “उकालो बाटोमा सर्वसाधारणलाई हिँड्नका लागि सजिलो होस् भनेर ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको छ,” उनले भने, “पैदलमार्गले बालबच्चा र वृद्धवृद्धालाई समेत हिँड्नका लागि सजिलो भएको छ ।”
पैदलमार्ग र रेलिङ निर्माणका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् रु ६० लाख ८५ हजार ९ सय ५६ लगानी भएको छ भने स्थानीयवासीले रु १५ लाख ७४ हजार ८ सय ९० बराबरको जनश्रमदान गरेका छन् ।
सवारी साधनको अन्तिम बिन्दुदेखि करिब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडि बाटो विस्तार नहुँदा करिब दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।
बाटो सहज बन्दै
पृथ्वीराजमार्गसँगै जोडिएको आँबुखैरेनी गाउँपालिकादेखि छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा सडक कालोपत्रेको काम सुरु भएको छ । यसअन्तर्गत हाल सडक फराकिलो बनाउने र नाला निर्माणको काम भइरहेको छ ।
प्रदेश सरकारको रु ३० करोडको लागतमा सडक कालोपत्रेका लागि काठमाडौंस्थित शर्मा एण्ड काष्ठमण्डप जेभीले ठेक्का पाएको छ । उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्रे सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त खण्डमा ४.२५ मिटर चौडाई कालोपत्रे र एक मिटर नाला सहित सात मिटर चौडाईको सडक हुनेछ ।
आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङ छिम्केश्वरी सडक कालोपत्रे भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने बताए। “बाटोकै कारण छिम्केश्वरीको जति प्रबर्द्धन हुनुपर्ने थियो हुन सकिरहेको छैन, बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ,” उनले भने । लाब्दीदेखि माथिको खण्डको बाटो भने गाउँपालिकाले खोलेको थियो । उक्त खण्ड असहज भएकाले स्तरोन्नति गर्ने तयारी गरिएको छ ।
घरबास सञ्चालनको तयारी
छिम्केश्वरी आउने पर्यटकलाई बास बस्ने व्यवस्था मिलाउन यहाँ घरबास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरबास व्यवस्थापन समिति गठन गरिएको छ । तेह्र घरमा घरबास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिए । घरबास सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएपनि कोभिडको प्रभावका कारण उक्त कार्य रोकिएको उनले बताए ।
“घरबास दर्ता गरेर तालीम पनि लिइसकेका थियौं, तर कोभिडको कारण अहिले पर्यटक आएका पनि छैनन्,” उनले भने, “परिस्थिति सहज भएलगत्तै घरबास पनि सञ्चालनमा आउँछन् ।” तेह्र घरमा ५०/६० जना पर्यटक बास बस्न सक्नेछन् ।




