समाचार

अब राजतन्त्र नर्फकने मुख्यमन्त्री गुरुङको दाबी

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजवादीको आन्दोलनले राजतन्त्र नर्फकने दाबी गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२ औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोद्धन गर्दै उनले गइसकेको राजतन्त्र ल्याउँछु भन्ने कुरा विद्युत्को विकल्पमा अगुल्टो खोज्नुजस्तै भएको बताए ।

“हटिसकेको राजतन्त्र ल्याउँछु भन्नु र घाम खस्छ भन्नु उस्तै उस्तै हो”, मुख्यमन्त्री गुरुङले भने । उनले कोरोना सङ्क्रमणले समस्या मात्रै हैन, अवसरसमेत प्रदान गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गराउन कोरोनाले अवसर समेत दिलाएको बताए । “कोरोनाले अत्यन्तै समस्या ल्यायो, हामी सबैलाई निरास समेत बनायो”, मुख्यमन्त्री गुरुङले भने, “कोरोनापछि स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ, अस्पताल निर्माण हुनेछन्, आगामी दिनमा थाल खानेकी भात खानेको अवस्था आउनेछैन ।”

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले जनतालाई छिटोभन्दा छिटो विकास दिन खोजेको भन्दै विकास र सुशासनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । तीन तले सो भवन रु एक करोड पाँच लाखको लागतमा निर्माण भएको हो । महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *