काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले मंगलबार आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि बढाउन कार्यरत सबै पक्षलाई आग्रह गरे ।
सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति(रासस), रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई प्रभावकारीरुपमा अघि बढाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै सकारात्मक कुराको पहिचान गरी कमजोरी केलाउन रेडियो नेपाल परिवारलाई आह्वान गरे ।
सो अवसरम रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विविधतामा एकताको सन्देश बोकेर रेडियो जनताको घरआँगनमा पुगेको बताउँदै जनताले अनुभूति गर्ने गरी निजी क्षेत्रभन्दा राम्रो सेवा रेडियोका कर्मचारीलाई आह्वान गरे । “प्रविधिमा सुधार गरी चालु आर्थिक वर्षमा ९२ प्रतिशत नेपालीका घरआँगनमा रेडियोको सेवा पु¥याउने लक्ष्य छ, यसका लागि तालीमका कार्यक्रम पनि सुरु भएको छ, रेडियो र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने गरी सार्वजनिक प्रसारण विधेयक संसद्मा दर्ता भइसकेको छ, दुवै संस्थाका राम्रा कर्मचारीको वृत्तिविकासमा असर नपर्ने गरी काम हुन्छ”, सचिव बस्यालले भने ।
देशको सबै भूगोलमा रेडियोको सेवा पु¥याउने र नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रियस्तरसम्म सेवा विस्तार गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी पनि उनले दिए । उनका अनुसार चारै सरकारी सञ्चारमाध्यमलाई थोरै जनशक्तिका भरमा धेरै सेवा दिने गरी अघि बढाउने योजनामा मन्त्रालयले काम गरिरहेको छ ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हाल जनसङ्ख्याको ८७ प्रतिशतमा संस्थाको सेवा पुगेको जानकारी दिए । रेडियोका हाल २३ एफएम र छ मिडियम वेभ स्टेसन छन् । रेडियो नेपालले २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम सञ्चालन गरिरहेको छ । समाचार र कार्यक्रम सञ्चालन गर्ने भाषा थपिएपछि खर्च पनि बढ्ने भएकाले थप गर्न नसकिएको कार्यकारी निर्देशक केसीको भनाइ थियो । रेडियो नेपालले प्रदेश नम्बर १ को विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण गर्न लागेको जानकारी पनि उनले दिए ।
रेडियो नेपालको ७०औं स्थापना दिवसका अवसरमा गत वर्ष चैत २० गते दिनुपर्ने दीर्घसेवा पदक कोरोना महामारीका कारण दिन नसकिएकाले उपयुक्त समय पारेर मंगलबार कार्यक्रम आयोजना गरिएको हो । केन्द्रीय कार्यालय सिंहदरबारमा कार्यरत १५ र राजधानी बाहिरका कार्यालयमा कार्यरत चार गरी १९ जनाले मंगलबार २५ वर्ष सेवा गरेवापत दीर्घसेवा पदक र प्रशंसापत्र प्राप्त गरेका छन् । कोरोनाका कारण रेडियो नेपालमा कार्यरत ४३ कर्मचारी पीडित भएको जनाइएको छ ।




