काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा सेटिङ प्रकरणका सम्बन्धमा छानबिन सुरु गरेको छ । विमानस्थलले यसै साताभित्रै भिजिट भिसामा खाडीमुलुक जान लागेका १५० जना नेपालीलाई विमानस्थलबाटै फिर्ता पठाएको छ ।
अध्यागमनले अनुगमन गरेपछि विमानस्थलले शंकास्पद भ्रमणमा रहेका ती नेपालीलाई विमानस्थलबाटै फिर्ता पठाइएको विभागका महानिर्देशक रमेशकुमार केसीले बताए ।
भिजिट भिसामा खाडी मुलुक पठाई अलपत्र पारेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेपछि गृह मन्त्रालयले छानविन समिति बनाएको थियो
गृहको प्रारम्भिक छानबिनमा विमानस्थलस्थित अध्यागमन कार्यालयका १४ अधिकृतसमेत परेका छन् । मन्त्रालयका उपसचिव रुद्र पण्डितको नेतृत्वमा रहेको छानविन समितिकोे सिफारिसका आधारमा १४ अधिकृत मन्त्रालयमा तानिएका छन् ।
गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले भने, गृहमन्त्रालयको छानविनमा सहयोग होस् भन्ने हिसावले अध्यागमनका १४ अधिकृतहरुलाई मन्त्रालयमा तानिएका हुन् ।’
त्रिभुवन विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर केही गिरोहले कैयन युवायुवतीलाई भिजिट भिसामा खाडी मुलुक पठाई अलपत्र पारेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेपछि गृह मन्त्रालयले छानविन समिति बनाएको थियो ।




