काठमाडौं । टोखा नगरपालिकाले मिलनटोलको सडक कालोपत्रे शुरु गरेको छ ।
ऐतिहासिक, सांस्कृतिक पर्यटकीय समृद्ध नगर निर्माणको अभियानमा जुटेको सो नगरपालिकाले रु एक करोड सात लाख लागतमा आज टोखा–८ स्थित मिलनटोलको सडक कालोपत्रे शुरु गरेको हो ।
टोखा नगरप्रमुख प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले भौतिक संरचना निर्माण र सडक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘संविधानले दिएको अधिकार पूर्णरुपमा कार्यान्वयन गर्नका लागि नगरपालिकाको संस्थागत क्षमता वृद्धि, पूर्वाधार विकास, प्रशासनिक भवन निर्माण, वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकमा राखेका छौँ,’ उनले भने ।
नयाँ कालोपत्रे हुन लागेको सडकको लम्बाइ एक हजार १०० मिटर र चौडाइ चार मिटर रहेको छ । यस्तै नगरपालिकाले रु १२ करोड लागतमा टोखा–७ मैजुहिटीमा नगरपालिकाको भवन निर्माण गरिरहेको छ भने टोखा–९ को गोँगबु र वडा नं ११ को महादेवटार हाइटमा वडा प्रशासनिक भवन निर्माण भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।




