धर्म/सस्कृति

बालाचतुर्दशीमा देवघाट नआउन भक्तजनहरुलाई आह्वान

चितवन । बालाचतुर्दशीमा भक्तजनहरुलाई देवघाट नआउन देवघाट क्षेत्र विकास समितिले आग्रह गरेको छ । मंसिर २८ गते परेको यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो ।

समितिले एक विज्ञप्ति प्रकाशित गरी मंसिर २७ गते साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको जनाइएको छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम रहेको उल्लेख गर्दै बालाचतुर्दशी पर्व पनि घरमै बसी मनाउन आग्रह गरिएको छ ।

बालाचतुर्दशीमा देवघाटमा सदबिज छर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सदबिज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

देवघाटधाममा बसोबास गर्नेहरु अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा जटिल स्थिति सिर्जना हुनसक्ने भएकाले भक्तजनहरुलाई नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताए । अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको उनले बताए ।

अन्त्येष्टि कर्ममा समेत थोरै सङ्ख्यामा मलामी आएर भौतिक दूरी कायम गर्दै अन्त्येष्टि गर्न आग्रह गरिँदै आएको अध्यक्ष पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *