काठमाडौं । कोरोना महामारीका कारण बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि खुल्ला भएको छ । स्वास्थ्य मापदण्ड अपनाइ नौ महिनापछि चिडियाखाना खुला गरिएको हो ।
कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । तर, अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।
सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ चिडियाखाना खुला गरिएको जानकारी दिँदै
भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिने बताए ।




