काठमाडौं । तत्कालिन द्वन्द्वरत माओवादीबाट २०५८ सालमा मारिएका लम्जुङको दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीलाई सम्झाउने गरी प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई गोठबाट अपहरण गरी घाँटी रेटेर हत्या गरेको छ ।
मंगलबार बिहान ६ जनाको समूहमा आएका नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले उनलाई अपहरण गरेका थिए । अपहरणपछि उनलाई सुराकी गरेको आरोपमा घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या घाटी रेटेर हत्या गरिएको थियो ।
२०५८ सालमा पनि शिक्षक मुक्तिनाथ अधिकारीको हत्या तत्कालिन माओवादीले घाँटी रेटेर नै गरिएको थियो । यसअघि मोरङ प्रहरीले गोली हानी उनको हत्या भएको जनाएपनि प्रहरी घट्नास्थलमा पुगेपछि उनको शव घाटी रेटेको अवस्थामा फेला पारेको थियो ।
जिल्ला प्रहरी मोरङका प्रमुख एसपी सन्तोष खड्काले जंगलमा गोलीको आवाज आएकाले त्यस्तो आशंका गरिएको बताए । ‘उहाँको हात अगाडि बाँधेको अवस्थामा शव भेटिएको छ, धारिलो हतियारले घाँटी रेटको अवस्था रहेकाले उनलाई गोली प्रहार भएको जस्तो देखिदैन’, एसपी खड्काले भने ।
शिक्षक श्रेष्ठलाई बिहान सवा ६ बजे घरै नजिकैको गोठबाट विप्लव कार्यकर्ताले अपहरण गरेर थिए । मिक्लाजुङ पाँचथर र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो । त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थिए ।
५४ वर्षीय शिक्षक अपहरणमा परेको र हत्या भएको विषयमा उनकै भतिजाले प्रहरीलाई जानकारी गराएका थिए । पूर्वी पहाडमा विप्लव समूहको गतिविधि बढिरहेका बेला मोरङका शिक्षकको हत्या भएको थियो । गत वर्ष भोजपुरमा प्रहरी र सो समूहबीच भिडन्त हुँदा एक जना विप्लव कार्यकार्ताको हत्या भएको थियो ।
शिक्षक श्रेष्ठको हत्यापछि एकटपक २०५८ सालमा मुक्तिनाथ अधिकारीको हत्या प्रकरणलाई सम्झाएको छ । विप्लव समूहले एउटा निर्दोष शिक्षकको हत्या गरेर बहादुरी प्रर्दशन गरेको भन्दै यतिबेला सर्वत्र आलोचना भैरहे पनि सो समूहले भने हतियार लिएर आइलागेका श्रेष्ठको प्रतिकारमा मृत्यु भएको भनेर दावी गरेको छ ।
मेची कोशी व्यूरोका संयोजक प्रतापको नाममा जारी भएको विज्ञप्तिमा सो कुरा उल्लेख छ । यद्यपि शिक्षक श्रेष्ठसँग विहानै कुनै पनि प्रकारको हतियार नभएको विगतको द्वन्दलाई सम्झाउने गरी उनको हत्या गरेर सर्वसाधारणलाई आतंकित पारिएको त्यहाँ स्थानीयहरुले जनाएका छन् ।




