नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले विषम परिस्थितिमा नेकपाको सरकारले जनताको स्वास्थ्य सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाली कांग्रेस खेलकुद विभागद्वारा शुक्रबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा बस्नेतले यो आरोप लगाएका हुन् । उनले भने, ‘विषम परिस्थितिमा सरकारले जनताको स्वास्थ्य सुरक्षा गर्न नसकेकाले प्रतिपक्षी दल जिम्मेवारीका साथ जनताको सेवामा खटिएको हो ।’
रगतको अभावलाई पूरा गर्न नेपाली कांग्रेस खेलकुद विभागले नेपालगन्जमा खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो । विभाग प्रमुखसमेत रहेका बस्नेतले मानव सेवाका रुपमा मानिने रक्तदान कार्यक्रम देशभरि आयोजना गरिएको बताए । उनले भने, ‘कोभिड–१९को महामारीमा देशभरि रगतको अभाव हुन नदिन नेपाली कांग्रेस खेलकुद विभागले सप्ताहब्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।’

पूर्वसञ्चारमन्त्री बस्नेतले खेलकुद क्षेत्रले देशको नाम संसारमा उँचो राख्ने भएकाले खेलकुदमा लागेका युवाहरुलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिए । रक्तदान कार्यक्रममा नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालाले सरकार खेलकुद क्षेत्रप्रति अनुदार रहेको भन्दै खेलकुदमा लाग्ने युवाहरुमा निराशा बढेको बताए ।
महामारीको अवस्थामा पार्टी जिम्मेवार भएर जनताको जीवन सहज बनाउनेतर्फ लागेकाले विरामी मानिसहरुलाई सहयोग पुगोस् भन्ने उदेश्यले पार्टीले रक्तदान कार्यक्रमको आह्वान गरेको सभापति कोइरालाले बताए ।
कार्यक्रममा क्षेत्र नं. २ का सभापति रमेशकुमार गुप्ताले शुभकामना मनतब्य दिए । कार्यक्रममा देशभरिबाट सर्वाधिक १५६ पटक रक्तदान गर्ने गोपीनाथ बैश्यलाई सम्मानसमेत गरिएको थियो । संघका केन्द्रीय सदस्य नरेन्द्र थापाले स्वागत गरेको रक्तदान कार्यक्रमको अध्यक्षता संघकी केन्द्रीय सदस्य शान्ति सिंहले गरेकी थिइन् ।
रक्तदान कार्यक्रममा राजनीतिक दलका नेता कार्यकर्ता, पत्रकार, स्वास्थ्यकर्मी, खेलाडीलगायत ७० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, डुडुवा गाउँपालिकाकी उपप्रमुख साहिदा बानो, नेपालगन्ज उपमहानगरपालिका वडा १३ का अध्यक्ष वीरेन्द्रबहादुर शाहलगायत कांग्रेस नेता कार्यकर्ताको उपस्थिति थियो ।




