समाचार

सडक सञ्जालमा जोडियो किसेदी गाउँ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसेदी गाउँका सर्वसाधारणलाई सडक भएको ठाउँमा आइपुग्न हिँड्नुबाहेक अर्को विकल्प थिएन ।

गाउँसम्म पुग्नका लागि पैदलमार्गबाहेक बाटो नभएका कारण करिब ४५ मिनेटको समय हिँड्नुपर्ने बाध्यता थियो । अब भने यहाँका सर्वसाधारणलाई सहज भएको छ । उक्त गाउँ पहिलोपटक सडक सञ्जालमा जोडिएको छ । वडा कार्यालयले गाउँसम्म पुग्नका लागि सडक खनेर सकेको छ ।

वडा कार्यालयको रु चार लाख र स्थानीयवासीको रु ५० हजार गरी रु चार लाख ५० हजारको लागतमा सडक खन्ने काम सम्पन्न भएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । वडाध्यक्ष गुरुङका अनुसार तिहार अगाडिबाट काम शुरु भएको थियो । उक्त सडकको दूरी एक हजार ५०० मिटर छ । किसेदी गाउँका स्थानीयवासी सडक सञ्जाल जोडिएपछि खुशी भएका छन् ।

म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु

तनहुँको म्याग्दे गाउँपालिका–५ र ६ जोड्न घेरौदी रिठ्ठेपानी म्याग्देखोलामा बक्स कल्भर्ट निर्माण शुरु भएको छ । घेरौदी रिठ्ठेपानी म्याग्देखोला बक्स कल्भर्ट निर्माण उपभोक्ता समितिमार्फत निर्माण शुरु भएको कल्भर्टको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शिलान्यास गरिन् ।

सो अवसरमा रानाले निर्धारित समयमै गुणस्तरीय काम गर्न आग्रह गरिन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर थापाले रु १८ लाखको लागतमा छ मिटर कल्भर्ट निर्माण गर्न लागिएको जानकारी दिए ।

म्याग्देखोलामा कल्भर्ट नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिम मोलेरै आवतजावत गर्दै आइरहेका छन् । ‘कल्भर्ट निर्माण भएपछि सहजरूपमा आवतजावत गर्न सजिलो हुन्छ’, थापाले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *