समाचार

झुम्सा खानेपानी आयोजनाको काम शुरु, बुटवल र तिनाउलाई सहकार्य गर्न आग्रह

रुपन्देही । बुटवलमा खानेपानीको सहज आपूर्तिका लागि झुम्सा खानेपानी आयोजनाको काम शुरु भएको छ ।

खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो ।

संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्साखोलामा बाँध तथा इन्टेक निर्माण गरी पानी प्रशोधन गरेर उपमहानगरपालिकाका सबै वडामा खानेपानी सेवा विस्तार गर्न लागेको छ । झुम्साखोलामा बाँध तथा इन्टेक निर्माणको आज शिलान्यास गर्दै सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजना समयमै सम्पन्न भई बुटवलको खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गरे । “यो आयोजना खानेपानी संस्थानको प्रतिष्ठासँग जोडिएकाले समयमै सम्पन्न गरेर बुटवलवासीको विश्वास जित्न जरुरी छ ।” उनले भने ।

अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्न बजेटको अभाव नहुने आश्वासन दिँदै सचेत भएर समयमै काम सम्पन्न गर्न आग्रह गरे । “कुनै पनि हालतमा आयोजना असफल हुन नदिनेतर्फ सचेत खानेपानी संस्थान र सडक डिभिजन सचेत हुनुपर्छ, तपाईहरु समन्वय गरेर काम गर्नुस्”, अर्थमन्त्री पौडेलले भने ।

उनले विकासका काममा हातेमालो गरेर अघि बढ्न बुटवल र तिनाउ गाउँपालिकाका जनप्रतिनिधिलाई आग्रह गर्दै यहाँका जनताका आवश्यकतालाई केन्द्रमा राखेर काम गर्न सुझाए । “बुटवलको शिर तिनाउ गाउँपालिका र आर्थिक केन्द्र बुटवल उपमहानगर भएकाले सहकार्य गरी अगाडि बढ्नुपर्नै पर्छ ।” उनले भने ।

आफ्नो पानीको मुहानको पानी दिएर तिनाउबासीले बुटवललाई ठूलो गुन लगाएको बताउँदै अर्थमन्त्री पौडेलले तिनाउ र बुटवलको सुन्दर भविष्यको परिकल्पना साकार पार्न यसैगरी एकार्काको साथ आवश्यक हुने जनाए ।

सो अवसरमा लुम्बिनी प्रदेशसभाका सदस्य तुलाराम घर्तीले तिनाउ गाउँपालिका क्षेत्रका विकासनिर्माणका कामलाई प्राथमिकता दिन र विकासका काममा सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले मुहानको संरक्षणमा स्थानीय नागरिकको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुका माग पूरा गर्न आग्रह गरे ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले बुटवलको आगामी १५ वर्षपछिको मागलाई ध्यानमा राखेर झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करीब तीन लाख जनसङ्ख्या लाभान्वित हुने गरी दैनिक करीब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको बताए ।

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले पहिलो चरणमा झुम्साखोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो आयोजनाको कामअन्तर्गत बुटवल–३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने जानकारी दिए । सो आयोजनाको कूल लागत रु छ अर्ब ३५ करोड ३५ लाख छ । उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले सो आयोजना शुरु गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *