बनेपा । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ का राजेन्द्रकुमार थापा मगरले आफ्नै निजी औषधि पसल सुरु गरेका छन् । जिल्लाको विकट क्षेत्र बूढाखानीको चार किल्लास्थित आफ्नो पुरानो घर भूकम्पले क्षति पुर्याएपछि निर्माण गरिएको भूकम्प प्रतिरोधी नयाँ घरमा उनले सो व्यवसाय सुरु गरेका हुन् ।
करिब रु एघार लाखको लागतमा निर्मित सो घरमा अहिले उनले मेडिकल व्यवसाय सञ्चालन गरेका छन् । विसं २०७२ को भूकम्पले घर क्षति भएपछि सरकारबाट प्राप्त रु तीन लाखमा थप लगानी उनले सो घर निर्माण गरेका हुन् । भित्रै शौचालयसहित निर्माण गरिएको सो घरमा अझै भान्साकोठा व्यवस्थापन गर्न बाँकी छ ।
“डिजाइनअनुसार सानो आकारका कारण भान्साकोठाको व्यवस्थापन गर्न अलि समस्या परेको छ”, उनले भने, “बनाइएको घरको एउटा कोठा औषधि पसलसहितको बिरामीको स्वास्थ्य परीक्षण कोठा र अर्कोपट्टिको कोठा आफू बस्ने गरी व्यवस्थापन गरेको छु ।”
भूकम्पपछि पुनःनिर्मित घर एउटै मापदण्डका भएका कारण अधिकांशको गुनासो छ, घर त बन्यो तर बस्ने र सामान राख्ने ठाउँको अभाव भयो । महाभारत गाउँपालिकामा भूकम्प लाभग्राहीमा परेका दुई हजार ९ सयभन्दा बढी लाभग्राही रहेकामा अधिकांशको अवस्था त्यस्तै छ । मापदण्डानुसार घरको आकार सानो भएकाले बस्न र सामान व्यवस्थापनमा समस्या भएको उनीहरुको गुनासो छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले भने निर्माण गरेको भूकम्प प्रतिरोधी घर मजबुत र बलियोसमेत रहेको बताए । “मापदण्डअनुसार बनाइएको घर भूकम्पले हल्लाउँदा पनि छिटो गाह्रो नफ्ट्ने र सबै ठाउँबाट भत्किने खालको हुँदैन ”, उनले हालै आयोजित एक कार्यक्रममा भने, “केही भाग फुटे पनि अर्कोतिर भार थेग्ने खालको हुन्छ ।” उनले सबैले मापदण्डअनुसारको भूकम्प प्रतिरोधी घर निर्माण गरेको पाइएको बताउँदै निर्माण गर्न बाँकी रहेकाहरुलाई पनि तोकिएको समयसीमाभित्र निर्माण गरी सरकारले चालेको अभियानमा साथ दिन आग्रह गरे ।
कतिपय अवस्थामा लाभग्राहीले भूकम्प प्रतिरोधी घर निर्माण गर्ने र क्षति पुगेका पुरानो घर पनि जस्ताको तस्तै राख्ने गरेका कारण जोखिममुक्त हुने अवस्था नरहेको उनको भनाइ थियो । भूकम्पले क्षतिग्रस्त महाभारत गाउँपालिका–५ चार किल्लास्थित ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यममा पुगेका उनले त्यहाँका भूकम्प पुनर्निर्माणको अवस्थाबारे जानकारी लिनाका साथै आसपासका घरसमेत निरीक्षण गरेका थिए ।
सो क्रममा उनले पुनर्निर्माणसँगै क्षति पुगेका पुराना घर पनि उस्तै रहेको पाइएकाले जोखिम अरु कसैका लागि नभइ आफ्नै लागि भएकाले पुराना क्षति पुगेका घरलाई भत्काउनै पर्ने सुझाव दिए । ‘पुराना घर राख्ने र नयाँ घर पनि बनाउने गर्न पाइँदैन ।’
सो क्रममा उनले पहिलो किस्ताबापतको रु ५० हजार लिएर खल्तीमा राख्दै घर नबनाउने लाभग्राहीलाई आउने दिनमा अफ्ठ्यारो पर्ने भएकाले सरकारले थपेको समयसीमाभित्र काम सम्पन्न गर्न आग्रह गरे ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले निजी आवास निर्माणको काम करिब ८७ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।
पुनर्निर्माणका काममा अब आर्थिक विपन्नताका कारण निर्माण गर्न नसकेका र केही पेशाका सिलसिलामा गाउँपालिका बाहिर रहेकाबाहेकले घर निर्माणको काम लगभग सकाइसकेको उनको भनाइ थियो । दुई हजार ९ सय ८५ लाभग्राही रहेकामा दुई हजार ६ सयभन्दा बढीले दोस्रो किस्ता लिइसकेको र दुई हजार ४ सयभन्दा बढीले अन्तिम किस्ता लिइसकेको गाउँपालिकाले जनाएको छ ।
प्राधिकरणले अब पुनर्निर्माणको अभियान अन्तिम चरणमा पुगेको जनाएको छ । निजी आवासको समयसीमा २०७८ जेठ मसान्तसम्म तोकिएको छ । पहिलो किस्ता लिइसकेका सबै लाभग्राहीलाई घर निर्माण सुरु गरी दोस्रो किस्ता लिन २०७७ माघ मसान्त र तेस्रो तथा अन्तिम किस्ताका लागि २०७८ वैशाख मसान्तसम्म समयसीमा तोकिएको छ ।
गाउँपालिका अध्यक्ष जिम्बाले गुम्बा पुनर्निर्माणका काममा अनुदानको व्यवस्थापन नगरेका कारण ढिलाइ भइरहेको बताउँदै त्यसमा ध्यान दिन प्राधिकरणसँग आग्रह गरे । प्राधिकरणले बाँकी रहेका गुम्बा पुनर्निर्माणको काम निरन्तर अगाडि बढ्ने जनाएको छ । पहिलो वर्ष गुम्बाका हकमा एक सय वर्ष अगाडिका पुरातात्विक महत्वका निर्माण गरिने र त्यसपछि सय वर्षभन्दा पछि बनेका बनाउन सहयोग गरिने जनाइएको छ ।




