काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला अहिले चाटर्ड फ्लाईटमा काठमाडौं अवतरण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी द्धारिका होटल पुगेका छन् । उनी नेपाल रहँदासम्म द्धारिकामै बस्नेछन् ।
विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपालको औपचारिक भ्रमण गरिरहेका श्रृंगलाले नेपालमा करिब ३० घण्टा बिताउने छन् । भारतीय विदेश सचिव श्रृंगला उनका समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलले होटल याक एण्ड यतीमा आयोजनागर्ने दिवाभोजमा सहभागी हुनेछन् । उच्च सरकारी स्रोतका अनुसार विदेश सचिवले औपचारिक महत्वपूर्ण भेटघाट आजै दिउसोको लागि तय भएको छ ।
उनले आजै राष्ट्रपति बिद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गर्नेछन् । नेपालमा राजनीतिक खिचातानी र सत्तारुढ दलबिच चलिरहेको जुहारीका बिच दिल्लीका दूतको भ्रमण औपचारिक भएपनि विदेश सचिव श्रृंगलाले नेपालमा रहँदा प्रतिपक्षी सबै दलका नेतासँग आलोपालो भेटनेछन् । भारतीय विदेश मामिला मन्त्रालयले यसअघि नै उनको भ्रमण औपचारिक हुनुका साथै नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको जनाएको छ ।
याे पनि हेर्नुहाेस,
भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्ने जानकारी मन्त्रालयले गराएको हो । नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको जनाउदै हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको मन्त्रालयको दाबी छ ।
भारतीय विदेश सचिव श्रृंगलाको भ्रमणलाई लिएर तीनै सुरक्षा निकायले औपचारिक रुपमा ‘सेक्युरिटी एस्सेमेन्ट’ गरेका छन् । नेपाल प्रहरीले भित्री घेरामा सुरक्षा दिने छ । यस्तै सशस्त्र प्रहरीले कार्यक्रमस्थल र उनको आवागमन हुने रुटको पेरिफेरी सुरक्षा दिनेछ । राष्ट्रिय अनुसन्धान विभाग, महानगरीय अपराध महाशाखा, तीनै जिल्लामा रहेका महानगरीय प्रहरी परिसरका सादा पोशाकका प्रहरी समेत श्रृंगलाको सुरक्षा चुनौती न्युनिकरणमा खटिने सुरक्षा अधिकारीहरुले बताएका छन् । भारतीय विदेश सचिव शुक्रबार फर्कने छन् ।




