समाचार

नागढुङ्गा-कलङ्की सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरेको छ ।

काठमाडौं उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरिएको जानकारी दिए । “सिसी क्यामरा जडानसँगै नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, नगरप्रमुख गिरिले भने ।

नगरपालिकाको वडा नम्बर २ नागढुङ्गादेखि वडा नम्बर १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाले जनाएको छ । राजमार्ग क्षेत्रमा चन्द्रागिरीको ११ वडा पर्दछन् ।

चन्द्रागिरी नगरपालिका बागमती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरीले सबै वडामा सिसी क्यामरा जडान गर्ने बताए । मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सिसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सिसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *