समाचार

डिएपी पाइयो, युरिया अझै अभाव

लहान । डिएपी मल आएपछि सिरहामा बुधबारदेखि रासायनिक मलको बिक्री वितरण सुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसनले डिएपी मलको बिक्री वितरण सुरु गरेको हो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख जीवनराज पौडेलले जानकारी दिए ।

“हामीलाई दुई दिनअघि कोटा छुट्टयाएर ३ सय ३० मेट्रिक टन डिएपी वितरणका लागि मल प्राप्त भएको छ”, प्रमुख पौडेलले भने, “मल आए लगत्तै बिक्री वितरण सुरु गरेको र सहकारी डिलरमार्फत अहिलेसम्म १ सय ५० मेट्रिक टन वितरण गरिसकेका छौँ ।” अब हामीसँग १ सय ८० मेट्रिक टन डिएपी मल गोदाममा मौज्दात रहेको प्रमुख पौडेलको भनाइ छ ।

यस्तै साल्टट्रेडिङ कार्पोरेसनले पनि डिएपी मलको बिक्री वितरणको तयारी थालेको छ । “हामीलाई ७ सय ६० मेट्रिक टन अर्थात् १० हजार बोरा डिएपी मल प्राप्त भएको छ”, साल्ट ट्रेडिङ कार्पोरेसन लहानका प्रमुख जीतेन्द्र साहले भने, “गाउँ गाउँमा सहकारीको डिलर बनिसकेको छैन, जसका कारण मल बिक्री वितरण गर्न समस्या भइरहेको छ ।” सहकारीको डिलर बन्ने वित्तिकै डिएपी मलको बिक्री वितरण सुरु गरिने प्रमुख साहको कथन छ ।

सिरहामा डिएपी मल आए पनि युरिया मल भने अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसन लहानले जनाएको छ । गहुँबाली छर्ने बेला भएकाले डिएपी र युरिया मलको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा सिरहामा डिएपी र युरिया मलको आभाव भएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले पाएका छन् । सिरहामा कूल खेतीयोग्य ६० हजार ७ सय हेक्टर क्षेत्रफलमध्ये ७० प्रतिशत क्षेत्रफलमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *