काठमाडौं । कोरोना महामारीका कारण देशभर रगत अभाव भएपछि नेपाली कांग्रेसस केन्द्रिय खेलकुद विभागद्वारा जिल्ला जिल्लामा रक्तदान कार्यक्रम आयोजना भइरहेको छ । विभाग प्रमुख एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा रक्तदान कार्यक्रम आयोजना भइरहेको हो ।
मंगलबार भक्तपुर र बनेपामा रक्तदान कार्यक्रम सम्पन्न भयो । भोलि बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसेमा पनि रक्तदान कार्यक्रम आयोजना हुँदैछ ।
खेलकुद विभागका सदस्य उमेश खड्काको संयोजकत्वमा भक्तपुरमा रक्तदान भएको थियो । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, प्रदेश सभा सदस्य कृष्ण भँडेल, क्षेत्रीय सभापति जीवन खत्रीलगायत उपस्थित थिए ।
विभागका सदस्य चन्द्रबहादुर तामाङको संयोजकत्वमा काभ्रेको बनेपामा भएको रक्तदान कार्यक्रममा पूर्वसञ्चारमन्त्री बस्नेत, कांग्रेस केन्द्रिय सदस्य शिव हुमागाई, पूर्वसांसद तीर्थ लामालगायतको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले ‘जनस्वास्थ्यको सवालमा सरकार उदासिन बन्दै गर्दा नेपाली कांग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति ऐतिहासिक भूमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको’ बताए ।
विभागले हालसम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पूर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा कृतज्ञता व्यक्त गरेको छ । रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लामा मंसिरर १५ गतेसम्म चल्नेछ ।





