समाचार

खानेपानी आयोजनाका लागि ट्याङ्की बन्दै

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका बासिन्दाका लागि खानेपानी उपलब्ध गराउन सुरु भएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम निरन्तर अगाडि बढिरहेको छ । एसियाली विकास बैंक, नगर विकास कोष, खानेपानी विभाग, पाँचखाल नगरपालिका र उपभोक्ताको लगानीमा निर्माण हुने आयोजनाअन्तर्गत पाँचखाल नगरपालिका–९ चारपिप्लेमा बन्न लागेको ब्याकवास ट्याङ्की निर्माण गरिने भएको छ । सो ट्याङ्की निर्माणका लागि शिलान्यास सम्पन्न भएर निर्माण प्रक्रिया अगाडि बढेको छ ।

आयोजना सम्पन्न भएपछि चरम समस्या व्यहोर्दै आएका यहाँका बासिन्दाले स्वच्छ र शुद्ध खानेपानी पाउनेछन् । पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सुनकोशीको बिमिरे र लोपोन्मुख पहरी बस्तीको मुख्य ट्याङ्कीबाट ब्याकवासका रुपमा जम्मा हुने पानी राख्नका लागि निर्माण हुने ट्याङ्कीको स्थानीय बासिन्दा रत्नबहादुर पहरीले बिहीबार शिलान्यास गरेका हुन् । निर्माण हुन लागेको ट्याङ्कीको क्षमता एक लाख ५० हजार लिटरको हुनेछ ।

ट्याङ्की निर्माणका लागि शिलान्यास गर्दै पहरीले लामो समयदेखि अभाव झेल्दै आएको खानेपानीको समस्याबाट मुक्त हुन लागेकामा खुशी व्यक्त गरे । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालको प्रमुख समस्या खानेपानीको कामसँगै वडा जोड्ने धुले सडकलाई पक्की गर्दै लैजाने योजना अगाडि सारिसकिएको बताए । “खानेपानी र धुले सडकको समस्याले गर्दा नगरवासीले खेप्दै आएको सास्तीलाई समाधान गर्ने कार्यमा नगरवासी एक जुट भएर अगाडि बढ्न आवश्यक छ”, उनले भने, “खानेपानीको आवश्यकता थियो, पूरा हुँदैछ । एक वडा एक पक्की मोटरबाटोको अवधारणा ल्याइएको र धेरैजसो ठाउँमा सडकको कालोपत्र गर्ने कामसमेत सुरु भएको छ ।”

सुनकोशी पाँचखाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले नगरमा रहेका सबै राजनीतिक दल र नगरवासीसँग सहकार्य गर्दै निर्धारित समयमा नै योजना सम्पन्न गर्नेतर्फ समिति लागिपरेको बताए । उपभोक्ता समितिका अध्यक्ष लामिछानेले यसअघिको सूचीमा समावेश हुन नसकेर छुटेकाका लागि पुनःसमावेश हुनका लागि आवश्यक व्यवस्था मिलाउने तयारीमा रहेको बताए । त्यसका लागि २०७७ मंसिर मसान्तसम्मको अवधि राखी उपभोक्ताका तर्फबाट बुझाउनुपर्ने रकमस्वरुप रु २५ हजार पाँचखालस्थित कृषि विकास बैंकमा रहेको सुनकोशी पाँचखाल खानेपानीको खातामा जम्मा गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

हुवासुई कन्काई जेभीसँग रु एक अर्ब ३४ करोड १० लाख ६५ हजार ६ सय ३७ मा ठेक्का सम्झौता भई ३० महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको आयोजना गत असार १५ गतेदेखि सुरु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *