धर्म/सस्कृति

पाटन दरबार क्षेत्रमा मानिसको चहलपहल बढ्यो

ललितपुर। पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण गतवर्ष चैत महिनादेखि मुलुक बन्दाबन्दी भएसँगै पाटन दरबार प्राङ्गणमा मानिसको आवागमन शून्य नै भएको थियो ।

“कोभिड त्रासका कारण लामो समय घरभित्र बस्न बाध्य भइयो । भौतिक दूरी कायम गरेर यसो केहीबेर पाटन दरबार क्षेत्र डुल्न निस्किएका हौँ”, सरिता मैनाली र उनका साथीको भनाइ थियो । महामारीको समयमा दैनिक कार्यालय र घर गर्दा वाक्क भएर केही समय मन बहलाउन कृष्णमन्दिरको काखमा आएको राकेश पुरीले बताए। मङ्सिर महिनाको चिसो बढेसँगै एकदेखि दुई घण्टा घाम ताप्न पाटन डबलीमा भित्रिएको पाटन सङ्ग्रहालय वरपर टोलमा बस्ने केही वृद्ध जमातको धारणा थियो ।

मुलुकमा कोरोना सङ्क्रमण फैलनुअघि पाटन दरबारचोकमा दैनिक थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्थ्यो । मङ्सिर महिना लागेसँगै पाटनमा घाम ताप्ने, घुम्ने, तस्बिर खिच्ने, गफ गर्ने र चराचुरुङ्गीलाई अन्न दिने मानिसको आवागमनसमेत बढेको देखिन्छ ।

पाटन दरबार क्षेत्र मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले भरिएको एक महत्वपूर्ण स्थल हो । मङ्गलबजारमा रहेको पाटन दरबार सङ्ग्रहालय भने मुलुकमा कोरोना भित्रिएसँगै नौ महिनादेखि हालसम्म बन्द रहेको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए। काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । पाटनको महत्वपूर्ण अङ्ग भनेकै तलेजु भवानी मन्दिर, देगुतले मन्दिर, सुन्दरी, केशवनारायण र मूलचोक, तुसाहिटी धारा, कृष्ण र भीमसेन मन्दिर आदि छन् । विश्व कला परिषद्ले पाटन क्षेत्रलाई विश्वको ३५आँै कला नगरी शहर घोषणा गरिसकेको छ ।

पाटनका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री विश्वका मुलुकभर बिक्री वितरण हुने गर्छन् । काठमाडौँ उपत्यकाका अन्य शहरभन्दा पहिला पाटनमा बौद्धधर्मको शुरुआत भएको कुरा पाटनवासीको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *