काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केबर –खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकि रहेको काठमाडौंदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप ( सर्कल) जोड्न सफल भएको छ ।
नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो । ‘ग्रिडका दक्ष इन्जिनियरहरुको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका छन्,’ शाक्यले भने, ‘पटक–पटक स्विचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का पथ्र्यो ।’
उनले अब उक्त समस्या समाधान भई आइतबार दिउँसोबाट सो लुप चालु हुने जानकारी दिए । ‘सुरुका छलफलपछि ग्रिडका प्रबन्धकलाई आवश्यक जडानका कदमहरु चाल्न आग्रह गरेको थिएँ,’ उनेले भने, ‘खिम्ती प्लान्टका कर्मचारी र ग्रिडकै केही कर्मचारी पनि अस्पष्ट थिए । तर, सैद्धान्तिक छलफलपछि उनीहरु पनि आश्वस्त भए । सबैको प्रयासबाट हामी सफल भयौँ ।’
उनले दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको जानकारी दिए । यसको प्रत्यक्ष फाइदा जाडो याममा देखिने उनले बताए ।
‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो । अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो,’ शाक्यले भने, ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगेन भने हेटौँतिरको लाइनबाट विजुली ल्याएर जोड्नुपथ्र्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्र्यो । कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन ।’
अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो, त्यहि लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ । शाक्यले स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी) को कन्ट्रोल रुममा पुगी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिने क्रममा त्यहाँका प्राविधिकहरुसँगको छलफलमा यो पत्ता लगाएपछि तत्काल समाधानको प्रयासमा लागेको बताए ।
रक्सौलमा पनि कहिले भारत कहिले नेपाल गर्दा त्यस्तो समस्या छ । अब त्यो पनि तत्काल समाधान गर्ने गरी टिम परिचालन भएको शाक्यले बताए । त्यहाँको समस्या समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु र जोड्नु पर्ने बाध्यता पनि हट्ने शाक्यले दाबी गरे ।
प्राधिकरणकै दक्ष इन्जिनियरहरुको हौसला बढाएर र उनीहरुरुसँग छलफल गरी अघि बढ्ने हो भने विश्वसनीय सेवा दिन सकिने सन्देश पनि यो कामले दिएको उनले बताए ।
आगामी दिनमा गुणस्तर, सेवा र मुल्यसँगै आयोजनाहरुमा स्वदेशी इन्जिनियरिङको प्रयोगलाई प्राथमिकता दिएर अघि बढ्नुको अर्को विकल्प नभएको शाक्यले बताए । ‘सधैँभरी विदेशी परामर्शदाताको मात्रै भर पर्ने हो भने ठाउँ–ठाउँमा धोका पाइन्छ । ढल्केबर सबस्टेशनमा हाम्रो इन्जिनियरिङ प्रयोग नभएको भए यति छिटो प्रगति हुने थिएन । स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दियो भने जस्तासुकै समस्या पनि हल गर्न सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो ।’
उनले आफ्नो कार्यकालभरी स्वदेशी प्रविधि र प्राविधिकलाई नै प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । आजको दिनमा विद्युतको चुनौति भनेको लोडसेडिङ नभै विश्वसनियता, राम्रो सेवा र उपयुक्त मुल्यमा जोड दिनु रहेको शाक्यले बताए । त्यसका लागि विद्युत प्रणालीलाई प्राविधिक हिसावले स्तरीय र बलियो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । ‘त्यसका लागि प्रसारण लाइनहरु निर्माण गर्ने र सबस्टेशनको क्षमता थप गरी आधुनिकिकरण गर्दै लैजाने र वितरण प्रणाली सुदृढ गर्नु आवश्यक छ,’ उनले भने ।
आगामी दिनमा काठमाडौं उपत्यकामा बढ्न सक्ने लोड समेतको मध्यनजर गरी प्राविधिक उपायहरु अपनाइ सम्भव भएसम्म सस्तो र स्वदेशी बुद्धिले जानेको र मानेको जुक्तिहरु लगाई कार्य गरिने पनि उनले बताए । प्राधिकरणका अनुसार यसपालिको जाडो यामका लागि २ सय ५० मेगावाट सम्मको बिजुली आयात गर्ने प्रस्ताव भारतले आइतबार मात्रै स्वीकृत दिएको छ । २ सय ५० मेगावट मध्ये केही ९८० देखि १५० मेगावाट २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।
‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफनै बिजुली अधिक हुने हुँदा निर्यातका लागि वार्ता भैरहेको बताइएको छ । गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभिमा चार्ज भइ भारतबाट ४०० केभिमा पहिलो पटक बिजुली प्रवाह भएको हो । यसबाट बिजुलीको प्रवाहका लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी वर्षात मा ५०० देखि ६०० मेगावाट सम्म निर्यातको संभावना बनेको छ ।




