राजनीति

शंकर पोखरेलको गुनासो, नेतृत्वको स्वार्थका कारण तलसम्म गुट फैलियो

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेतृत्वले स्वार्थका कारण विवेक गुमाउँदा तल्लो तहसम्म गुट फैलिएको बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले नेतृत्वकै अक्षमताका कारण माथिदेखि तलसम्म पार्टी र नेतृत्व खुइल्याउने क्रम सुरु भएको बताएका छन् ।
पार्टीभित्र अहिले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद उत्कर्षमा पुगेका बेला नेताहरुमाथि हिलो छ्याप्ने र आरोपप्रत्यारोप तीव्र हुन थालेको छ । सामाजिक सञ्जालमा समेत नेताहरुमाथि लाञ्छना लगाउने क्रम बढेको छ ।
शनिबार मात्रै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा नेकपाकै ओली पक्षीय कार्यकर्ताले हुलहुज्जत गरेपछि यसको असर पार्टीभित्र व्यापक परेको छ । यसबारे नेताहरु नै विभाजित भएका बेला ओली निकट पोखरेलले यस्तो गुनासो गरेका हुन् ।
पोखरेलले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ, तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ ।’ पोखरेलले भने जस्तै अहिले जिल्ला जिल्लामा विवाद देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *