काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का दृष्टिविहीन खिलप्रसाद तिमल्सिनालाई विपद्को अवस्थामा जीविकोपार्जन गर्न निकै कठिन हुने गर्छ ।
विपद्मा सबैभन्दा बढी समस्या अपाङ्गता भएका व्यक्तिलाई हुने भएकाले स्थानीय तहको वडा तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको पनि प्रतिनिधित्व हुनुपर्ने आवाज उनले उठाउँदै आएका छन् । तिमल्सिनाले आफूहरू शारीरिकरुपमा कमजोर भए पनि सम्भव काम गरेर खान चाहेको बताउँछन् । ‘खेतीपातीले एक महिनामात्रै खानपुग्ने मेरो परिवारले कोरोनाको समयमा काम गर्न नपाउँदा निकै समस्या झेलिरहेका छौँ, यसको सुनुवाइ सरोकारवाला निकायले छिट्टै गरोस् भन्ने चाहेका छौँ ।’ उनले भने ।
विषम परिस्थितिमा हाल सो नगरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सञ्चालन गरेको ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ परियोजनाले अपाङ्गता भएका स्थानीय व्यक्तिको जीवनशैलीमा परिवर्तन आउने उनको विश्वास छ । तर, विपद्मा सबैभन्दा बढी जोखिम वृद्ध, बालबालिका र अपाङ्गता भएका व्यक्ति नै हुने भएकाले जोखिम न्यूनीकरण समितिमा अपाङ्गता भएका व्यक्तिलाई राख्न सहज नभएको सो पालिकाका प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनले भने, ‘वर्षेनी अपाङ्गता भएका व्यक्ति केन्द्रित सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ, सहज वा विषम परिस्थितिमा अपाङ्गता वर्गलाई नगरले प्राथमिकतामै राखेको छ ।’
नगरको कार्ययोजनाले सबै अपाङ्गता भएका व्यक्ति समेटिएको उनले जिकिर गरे । मण्डनदेउपुरकै ६ नम्बर वडा निवासी शारीरिक अपाङ्गता भएको एवं अपाङ्गता महिला सङ्घको महासचिव पम्फा पुर्कुटी परियोजनाको अपाङ्गतामैत्री सूचना सामग्रीका कारण अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन हुँदै गएको बताउँछिन् । उनि भन्छिन्, ‘उहाँहरूले समुदायस्तरका आफ्ना हकहित तथा पाउने सेवा लिन थाल्नुभएको छ, जोखिम न्यूनीकरण तथा विपद्मा राहत पाउने विधिलगायतमा अहिले उहाँहरूको ध्यान केन्द्रित हुँदै गएको छ ।’
परियोजनाको फोकल पर्सनसमेत रहेकी पुर्कुटीका अनुसार परियोजनामार्फत क्षमता अभिवृद्धिका तालीम भइरहेका छन् । नगरमा पाँच सयभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको उनले बताइन् । काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकास्थित शारीरिक अपाङ्गता भएका व्यक्ति एवं स्थानीय अपाङ्गता संस्थाका संयोजक चन्द्र लामा परियोजनाबाट सो समूहका स्थानीय व्यक्तिले केही लाभ लिइरहेको बताउँछन् । ‘परियोजनाले जीवनयापनमा सहजता ल्याउने सूचना सामग्रीसँगै क्षमता अभिवृद्धिका कार्यक्रमले यहाँका त्यस्ता व्यक्तिमा आकर्षण देखिएको छ, उनीहरूका आवश्यकताअनुसारका राहत दिलाउने आश्वासन पाएका छौँ”, उनले भने ।
गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई परियोजनाको सेवामा आबद्ध हुन आग्रह गरिएको उनले बताए । कोरोना भाइरसका कारण अपाङ्गता भएका व्यक्तिको जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यस विषम परिस्थितिमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सीबीएमको साझेदारीमा सञ्चालित ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ नामक परियोजना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा र भुम्लु गाउँपालिका तथा सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकामा सञ्चालन गरिएको छ । परियोजना सञ्चालित स्थानीय तहमा भौतिक पूर्वाधार (क्वारेन्टिन, स्वास्थ्य केन्द्र र बास केन्द्र) तथा सञ्चार सेवामा अपाङ्गता भएका व्यक्ति लक्षित पहुँचयुक्त गतिविधि भइरहेको परियोजनाकोे कार्यक्रम अधिकृत सुरक्षा ढुङ्गानाले बताइन् ।
‘कार्यक्रमले अपाङ्गता भएका व्यक्तिले अब सूचना र सञ्चारका लागि अन्य समयजस्तै अवरोधको सामना गर्नुपर्ने छैन भन्ने अपेक्षा गरेका छौँ’, उनले भनिन् । उनका अनुसार क्षमता अभिवृद्धि तालीमले अपाङ्गता भएका व्यक्ति परिवार तथा समाजमा नयाँ काम तथा सहजीकरण गर्न हौसिएको पाइएको छ ।
नेपालको संविधान विसं २०७२ को धारा २७ तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ (पहिलो संसोधन, २०७५)ले अपाङ्गता भएका व्यक्तिको सूचनाको हकलाई सुनिश्चित गरेको छ । नेपालले अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा २१ मा पनि यस हकको ब्याख्या गरिएको छ ।
उक्त महासन्धिको धारा ९ ले सबै किसिमका सूचना तथा सञ्चारप्रणाली पहुँचयुक्त हुनुपर्ने स्पष्ट उल्लेख गरेको छ । संयुक्त राष्ट्र सङ्घीय दिगो विकास लक्ष्य (१०) मा समेत अपाङ्गता भएका व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक मूल प्रवाहीकरणमा जोड दिँदै उनीहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था गरेको छ ।




