काठमाडौं । बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन भएकोमा नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।
दुबै वरिष्ठ चिकित्सकप्रति सभापति शेरबहादुर देउवाले उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । दुबैसँगको पुरानो ब्यक्तिगत स्मृति गर्दै सभापतिले नेपालको चिकित्सा क्षेत्रमा दुबैको लामो योगदान स्मरणीय रहने उल्लेख गरे ।
दुबै परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सभापतिले कोरोनाविरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुबै थरिको उपचारमा संलग्न देशभरका स्वास्थकर्मीहरुको सुरक्षामा विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका छन् ।
हङकङबासी नेपालीमा गहिरो समवेदना
त्यस्तै सभापति देउवाले केहिदिन अघि नोभेम्बर १५ मा हङकङको एक होटलमा भएको आगलागीमा परेर ९ जना नेपालीको निधन भएकोमा नेपाली कांग्रेसका तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन् ।
जन्मदिन मनाउने क्रममा भएको रमाइलो जमघट मृत्युको कहालीलाग्दो स्थितिमा पुग्नु हृदयविदारक भन्दै सभापतिले मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजन र हङकङबासी नेपाली समुदायमा समवेदना व्यक्त गरेका छन् । अस्पतालमा उपचाररत अन्य घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना पनि सभापति देउवाले गरेका छन् ।




