समाचार

तिहार र छठपछि लकडाउन गर्ने हल्लाप्रति वायुसेवा सञ्चालक संघको आपत्ति

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले तिहार र छठपछि लकडाउन गर्ने सरकारको तयारी भन्ने हल्लाप्रति चासो व्यक्त गरेको छ । कोरोना भाइरस महामारीले सबै क्षेत्र तहसनहस बनाउँदै गर्दा पनि केही समययता विस्तारै आर्थिक गतिविधि बढ्दै गएकोमा फेरि लकडाउन गर्ने हल्ला नगर्न र त्यसलाई बल पुग्ने गरी समाचार नबनाउन संघले आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै संघले पुनः लकडाउन गर्न खोज्नुले जुर्मुराउँदै गरेको अर्थतन्त्र खाडलमा हाल्न खोज्नु रहेको भन्दै सुरक्षा सतर्कतासहित आ–आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । सरकारले मंसिर १ गतेदेखि बन्द रहेका पर्यटन क्षेत्रका सबै गतिविधि खुला गर्ने तथा आन्तरिक पर्यटकीय गतिविधि सुरु भइसकेकले लकडाउनको हल्ला नचलाउन र त्यस्तो प्रचार गर्नेलाई कानुनअनुसार कारबाही गर्न पनि माग गरेको छ ।
लकडाउनबाट कोरोना संक्रमण रोक्न नसकिएको देख्दादेख्दै पनि फेरि बन्दाबन्दी गर्न खोज्नु ठीक नहुने उसको भनाइ छ । काठमाडौं उपत्यकाका मेयर फोरमले १५ दिन काठमाडौं उपत्यकामा कडा लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण बढ्दै जानु र मेयर फोरमले त्यस्तो आग्रह गर्नुले कतै छठपछि फेरि लकडाउन हुने हो कि भन्ने चिन्तामा नेपाली जनता परेका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले तिहार र छठपछि कस्तो परिस्थिति सिर्जना हुन्छ, त्यसलाई हेरेर मात्र उचित निर्णय लिने बताइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *