धर्म/सस्कृति

यशोब्रह्मको निशानगढी कालिका मन्दिर पुनःनिर्माण माग

कास्की । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले भग्नावशेषयुक्त निशानगढी कालिका मन्दिरको स्थलगत निरीक्षण गरेका छन् ।

बेँसीशहर नगरपालिका –११ चिती रामचोकस्थित मन्दिरको पुनःनिर्माण गरी ठडाउनका लागि सहयोग तथा पहल गर्न स्थानीयवासीले उनिसँग माग गरेका छन् । निशान गढी कालिका धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष राजाराम सेढाईँले ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सो क्षेत्रको विकासमा पहल गर्न प्रदेशसभास सदस्य दवाडीसँग आग्रह गरे ।

विसं २०७२ को भूकम्पले जीर्ण मन्दिरको पुनःनिर्माण गर्न कम्तीमा रु १५ लाख तथा गढी पूरै संरक्षणका लागि करीब रु दुई करोड रुपैयाँ लाग्ने जनाइएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य फूलबहादुर थापा, ईश्वर पाण्डे, वासुदेव सेढाइ लगायतले पुनःनिर्माणका लागि सम्बन्धित निकायको ध्यान नपुगेको बताए ।

नेकपा लमजुङका सचिव दवाडीले गढी तथा मन्दिर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका रहेकाले यसको प्रचारप्रसारमा स्थानीय नै अग्रसर हुनुपर्ने तथा ठाँटी, बाटो र शिलालेखको खोजीसमेत गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीलाई सो क्षेत्रको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आग्रह गरे । यहाँ विसं १५५० लमजुङ दरबारमा राजगद्दी सम्हालेका यशोब्रह्म शाह बेलाबेला निशानागढीमा आएर बस्ने गरेको र सैनिकले मन्दिरमा पूजा गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

पुरातात्विक विभागको टोलीले गत वर्ष सो क्षेत्रको निरीक्षण गरेको थियो । टोलीले निशानगढीलाई काँडेतारले बेरेर राखेको छ । सो स्थानबाट विभिन्न स्थान तथा हिमाल देख्न सकिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *