सम-सामयिक

कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी

दमौली । तनहुँको व्यास नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको छ । वर्षौँदेखि फोहर फाल्दै आएको व्यास नगरपालिका–३ स्थित भतेरी मादी नदीले कटान गरिदिएपछि नगरपालिकाले कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने तयारी गरेको हो ।

नगरपालिकालाई फोहरमैला व्यवस्थापनका लागि व्यास नगरपालिका–१ का स्थानीयवासी रामदेव पन्थले पाँच वर्षका लागि निःशुल्क जग्गा सहयोग गरेका छन् । “नकुहिने फोहरलाई यही जग्गामा व्यवस्थापन गर्छौँ, कुहिने फोहरबाट मल बनाउँछौ,” नगरप्रमुख न्यौपानेले भने । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार स्थानीयवासीले २०८२ सालसम्मका लागि फोहर बिसर्जनका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका छन् । “अब कम्तिमा पनि पाँच वर्षका लागि फोहरमैला बिसर्जनका लागि समस्या हुँदैन,” उनले भने ।

वडा नम्बर ४ र १० को चार वटा सामुदायिक वनमा पनि फोहरमैला केन्द्र निर्माणका लागि प्रकृया अगाडि बढाएको छ । चार वटा सामुदायिक वनले फोहरमैला केन्द्र निर्माणका लागि सहमति जनाएकाले ती ठाउँमा वातावरणीय प्रारम्भिक अध्ययन गर्न लागिएको छ । नगरपालिकामा स्थायी रुपमा ल्याण्डफिल्ड साइड बनाउन माग हुँदै आएपनि उपयुक्त ठाउँ नपाउँदा नगरपालिकाले ल्याण्डफिल्ड साइड निर्माण गर्न सकिरहेको छैन ।

व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा ल्याण्डफिल्ड साइड निर्माणका लागि अध्ययन गरिएपनि स्थानीयवासीको विरोधपछि उक्त कार्य स्थगित भएको थियो । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–२, ३ र ४ बाट कुहिने र नकुहिने फोहर वर्गीकरण गरी सङ्कलन गर्दै आइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *