सम-सामयिक

चुनौतीमा अवसर खोज्न ‘हन्ड्रेड आवर्स’

काठमाडौं । कोभिड–१९ को संक्रमण यतिबेला विश्वव्यापी महामारीको रुपमा फैलिँदो छ । यस्तो विषम् परिस्थितीमा नेपालका चित्रकार कोरोनाको चुनौतीलाई अवसरमा बदल्ने तयारी गरिरहेका छन् । सङ्कटका बीच विश्व अभिलेख राख्ने उद्देश्यसहित चित्रकलाकर्मी ‘हन्ड्रेड आवर्स’ ललितकला कार्यशाला गर्न जुटेका हुन् ।

कोभिड–१९ संक्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही २३–२७ गतेसम्म लगातार १ सय घण्टासम्म लगातार कार्यशाला आयोजना गर्न लागिएको कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए ।

उनका अनुसार आवश्यक सावधानी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै अनलाइनमार्फत यही आइतबारदेखि अनलाइन कला कार्यशाला गर्न लागिएको छ । “चुनौतीको सामना गर्न हर कोही जस्तोसुकै अवस्थामा पनि तयार रहनुपर्ने सन्देश नेपालका कलाकारले कार्यशालामार्फत विश्वलाई दिनेछौँ”, उनले भने ।

समाज कै नेतृत्वमा हुन लागेको कार्यक्रमको आवश्यक तयारी पुरा भएको छ । एक सय घण्टा निरन्तर चल्ने कार्यशालामा कलाकारका कूचीले जलरङका चित्र कोर्नेछन् । “प्रचारप्रसारदेखि कलाकार समन्वय, समय व्यवस्थापन तथा प्रविधिको अभ्यासका गतिविधि सबै पूरा भएको छ, जिल्लाजिल्लाबाट समूहगत रुपमा कलाकार सहभागि हुनेछन्, एउटा कला महोत्सव कै रुपमा हामीले लिएका छौँ”, संयोजक गुरुङले तयारी बारे सुनाए ।

कार्यशालाका लागि ७३ जना कलाकार छनोट गरिएको छ । एक जना कलाकारले दुई घण्टा चित्र सिर्जना गर्नेछन् । बीचमा आउनसक्ने अबरोधका लागि जगेडा कलाकारको व्यवस्थापन गर्न २३ कलाकार थप गरिएको छ । “कुनै कलाकारले कारणबस सहभागि हुन पाएनन् भने जगेडा कलाकार राखेर कार्यशाला गर्न लागिएको छ”, गुरुङले भने, “विद्युत् नभएको अबस्थामा समेत वैकल्किप व्यवस्था गरिएको छ ।”

कार्यशालाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङबाट उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको जनाइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) मा उद्घाटन समारोह हुनेछ भने ‘भर्चुअल’मार्फत ठाउँठाउँबाट कलाकार सहभागि हुनेछन् । पहिलो मुहारचित्र मन्त्री गुरुङ कै हुनेछ । नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले उनको मुहारचित्र कोर्नु हुनेछ । अन्तिममा अग्रज कलाकार मदन चित्रकारले चित्र सिर्जना गरेर समापन गरिने जनाइएको छ । विभिन्न जिल्लाबाट समुहगत रुपमा कलाकार जोडिनेछन् ।

प्रदेश १ मा महेन्द्र राई, प्रदेश २ मा मुकेश महत्तो, बागमती प्रदेशमा प्रकाश थापा, गण्डकी प्रदेशमा मनोज तामाङ र लुम्बिनी प्रदेशमा सुमित्रा रानाले नेतृत्व गर्नेछिन् । ठाउँठाउँबाट कलाकारले समूहमा बसेर चित्र कोर्ने छन् । सहभागिमध्ये झण्डै आधा कलाकार काठमाडौं उपत्यकाकाबाट सहभागि हुने जनाइएको छ ।

चितवनरनवलपुर क्षेत्रको नेतृत्व गरेका कलाकार प्रकाश थापाले यहाँको मौलाकालिका मन्दिरमा बसेर १० जना कलाकार २५ गते रातभर नै कार्यशालामा जोडिने तयारी भइरहेको जानकारी दिए । जलरङका कलाकार ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा जुटेकामा खुसी व्यक्त गर्दै कुलपति कर्माचार्यले भने, “विश्व रेकर्ड भयो भने राष्ट्रकै लागि महत्वपूर्ण उपलब्धि हो, त्यो भएन भने पनि नेपालका लागि एउटा गौरब गर्न लायक पक्कै हुन्छ ।”

उक्त कार्यक्रमले कोरोनाको बेलामा कलाकारलाई सक्रिय बनाउने र नेपालको कला संस्कृतिलाई विश्वमाझ पु¥याउन योगदान गर्ने विश्वास लिइएको छ । कला समीक्षक रमेश खनाल यसले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शिर ठाडो पार्ने विश्वास व्यक्त गरे ।

आइडब्लुएसका विश्व अध्यक्ष अतानुर डोगनले नेपालले ऐतिहासिक कार्यक्रमको नेतृत्व गरेकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका छन् । उनले नेपालको कला संस्कृतिको प्रत्यक्ष अवलोकनका लागि आतुर रहेको समेत बताए । कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *