काठमाडौँ – उच्च अदालत, पाटनले र्यापर भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न आदेश दिएको छ । गीत, संगीतको विषयलाई लिएर उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै अदालतले पक्राउ नगर्न आदेश दिएको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।
हालसाल सार्वजनिक भएको गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्रचार गरेपछि भिटेन अदालतको शरणमा पुगेका हुन् । अहिले भिटेनले उक्त गीतको भिडियो आफ्नो आधिकारीक युट्युब च्याननलबाट हटाएर माफी समेत मागिसकेका छन् ।




