सम-सामयिक

जागिर गुमाएका पत्रकारलाई सहयोग गर्न महासंघको सरकार संग आग्रह

काठमाडौँ – नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ ।

सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ । सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।

महासंघले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उनले सबै सुझाव एकै पटक लागु गर्न सक्ने अवस्था नभए पनि बर्गीकरण गरी तत्कालिन र दीर्घकालीन रुपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए । पत्रकार कल्याण कोषबाट यही आर्थिक वर्षदेखि लागु हुने गरी जेष्ठ पत्रकार जीविकोपार्जन भत्ता वितरण गर्न पनि महासंघले आग्रह गरेको छ ।

विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार तत्काल सबै प्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने र स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिन पनि महासंघले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *