सम-सामयिक

साक्षर हुन अण्डा बिक्री

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोट पानीमूल गाउँको महिला समूहले आफू साक्षर हुनका लागि अण्डा र तरकारी बिक्री गरी आएको पैसाले शिक्षिकालाई पारिश्रमिक दिने गरेको छ ।

पच्चीस महिलाको समूहले साक्षरता कक्षाका लागि शिक्षिका राखी अण्डा र तरकारी बेची प्राप्त आय उनलाई दिने गरेको हो ।

सहभागी देवीसरा जैसीले सबैतिर विभिन्न संघसंस्था, गाउँपालिकालगायतले साक्षर कक्षा सञ्चालन गरेको देखेपछि आफूहरु महिला मिली पढ्ने योजना बनाएको बताइन् । उजले भनिन्, “आफ्नो गाउँका २५ जना महिलाको एक महिला समूह बनाएका छौँ, समय मिलाएर बिहान, बेलुकी पढ्ने गछौँ ।”

विसं २०७७ साउन २ गतेदेखि सञ्चालन भएको साक्षरता कक्षाबाट दुई महिनाका अवधिमा ल्याप्चेबाट आफूहरु अहिले हस्ताक्षर गर्ने भएको सहभागी महिलाले बताएका छन् । यति मात्र नभएर कोही महिला त सानातिना हिसाब पनि गर्न सक्ने भएको अर्का सहभागी देउरुपा जैसी बताउँछिन् ।

देवीसरा भन्छिन्, “श्रीमान्‌बाट पैसा लुकाएर, अण्डा बेचेर बचत गरेको पैसा र आम्दानी शिक्षिकालाई दिने गरेका छौँ । यो सबै महिलाको निर्णय हो ।” कुनै सभा, भेलामा अगाडि जाँदा पनि अनपढ भनी हेलाँ गरेपछि पढ्ने निधो गरेको उनको भनाइ छ । उनले भनिन्, “आमाबुवा शिक्षित भएको भए हामीलाई पनि पढाउँथे होला, नभएकाले आज दुःख भोगेका छौँ ।”

महिलाहरुले प्रतिसदस्य पहिलो महिना रु २५ र अहिले रु ५० उठाएर पढिरहेका छन् । अब गाउँका अन्य महिलालाई पनि समेट्ने र गाउँ नै साक्षर बनाउने उनीहरुको लक्ष्य छ । कक्षा सञ्चालनको जानकारीपछि अहिले गाउँपालिका र सामाजिक संघसंस्थाले केही सहयोग गर्ने आश्वासन दिएको समूहले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *