समाचार

घट्टेकुलोमा वीर गणेशमान स्मृति ज्येष्ठ नागरिक भवन

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं २९ रुद्रमती किनारस्थित घट्टेकुलोमा वीर गणेशमान सिंह स्मृति ज्येष्ठ नागरिक भवन निर्माण शुरु भएको छ ।

पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले सांसद पूर्वाधार कोषबाट रु दुई करोड र वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले प्रदेशसभा पूर्वाधार कोषबाट प्रदान गर्नुभएको रु एक करोडबाट भवन निर्माण शुरु भएको वीर गणेशमान ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष ध्रुव केसीले राससलाई जानकारी दिए । गत आर्थिक वर्षमा सांसद पूर्वाधार कोषबाट नेता सिंहले छुट्याउनुभएको रु ७० लाख बजेटबाट काम प्रारम्भ भएको थियो । हाल भुइँतलाको काम सकिएको छ ।

दुई रोपनी क्षेत्रफलमा बन्ने ज्येष्ठ नागरिक भवन निर्माणपछि यस क्षेत्रका वृद्धवृद्धाका लागि सहज हुने विश्वास लिइएको छ । ठूलो हलसहित ७० कोठाको पाँच तले भवन बनाउन रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । एक वर्षभित्र भवनको काम सक्ने गरी काम भइरहेको वडा अध्यक्ष कुश ढकालले बताए । भवन निर्माण सम्पन्न भएपछि ४० जनााई सःशुल्क र ४० जनालाई निःशुल्क गरी ८० जना वृद्धवृद्धालाई सेवा दिने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ ।

भवनको तल्लो तलामा ठूलो हलसहित स्वास्थ्य सेवासमेत दिने गरी संरचना निर्माण गरिएको छ । भवन निर्माणका लागि पूर्वाधार कोषले नभ्याउने रकम महानगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यासका अवसरमा गर्नुभएको केन्द्रले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *