समाचार

आइसोलेसन निर्माण कार्य सुस्त

दमक । झापाको दमक नगरपालिकामा कोरोना भाइरसको संक्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरपालिकामा १ सय ८९ जनामा कोरोना संक्रमण देखिसकेको छ । तीमध्ये १ सय ५५ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक संक्रमित महिलाको ज्यान गएको छ । वडा नम्बर १ का ५८ वर्षीय संक्रमित एक पुरुषको भने काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो ।

पछिल्ला समय कोरोना संक्रमणबाट नगर प्रमुख रोमनाथ ओलीसहित तीन जना जनप्रतिनिधि उपचाररत छन् । अहिले नगरमा सक्रिय संक्रमितको सङ्ख्या ३३ रहेको छ । तीमध्ये २५ जना होम आइसोलेसनमै उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दुई दिनअघि यहाँ ३ सय जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि कन्काई नगरपालिकाको कोटीहोमस्थित प्रयोगशालामा पठाइएको छ । यसअघि संक्रमण देखिइसकेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । नगरपालिकामा व्यवस्थित आइसोलेसन नहुदाँ समस्या भएको छ ।

संघीय सरकारले स्थानीय तहमै कोभिड–१९ विशेष कम्तीमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सर्कुलर गरिसकेको भए पनि यहाँ भने अहिलेसम्म छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा आउन सकेको छैन । आम्दा अस्पतालमा केही आइसोलेसन कक्ष रहेका भए पनि प्राय खाली छैनन् । नगरपालिकाले छुट्टै कोरोना विशेष उपचारस्थल र संक्रमितको मृत्यु भइहाले शव व्यवस्थापनका लागि कुनै पूर्वतयारी नगर्दा संक्रमितको उपचार तथा मृत्युपछि हुने अन्त्येष्टि कार्यमा समस्या हुँदै आएको छ ।

नगरपालिकाले कोभिड–१९ को उपचारका लागि वडा नम्बर २ स्थित पुरानो शरणार्थी समन्वय एकाइको कार्यालय रहेको भवन र सशस्त्र प्रहरीको बेलडाँगी–१ स्थित बेस क्याम्प परिसरमा एक महिना अघिदेखि भौतिक पूर्वाधारको व्यवस्था मिलाउने गरी काम अघि बढाए पनि त्यसले अझैसम्म पूर्णता पाउन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *