मस्को । रुसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अर्काे एउटा एन्टिभाइरल औषधि बनाएको छ । कोरोना भाइरस विरुद्धको खोपमा सफलता हासिल गरेको दावी गरेको रुसले सामान्य लक्षणसहितका संक्रमितको उपचारका लागि कोरोनाभिर नामक औषधि तयार गरेको हो ।
औषधि प्रयोगका लागि रुसको नियामक निकायले अनुमति समेत दिएको छ । आर–फार्म कम्पनीले बनाएको सो औषधि आगामी हप्ता रुसका बजारमा उपलब्ध हुने बताइएको छ । औषधि निर्माता कम्पनीका अनुसार १ सय ६८ जनामा तेस्रो चरणको क्लिनिकल परीक्षणपछि कोरोनाभिरले अनुमति पाएको हो ।
यसअघि मे महिनामै रुसले एभिफाभिर नामको औषधिलाई कोरोना संक्रमितमा प्रयोगका लागि अनुमति दिएको थियो । यी दुवै औषधि जापानमा विकास गरिएको फेभिपिभिर औषधिको सूत्रमा आधारित रहेका छन् ।
यो औषधि फ्लू र भाइरस संक्रमणको उपचारमा प्रयोग हुने गर्दछन । रुसले कोरोनाविरुद्ध स्पुतनिक भाइभ नामक खोप समेत बनाइसकेको छ ।




