समाचार

यो वर्ष पाँचपोखरी मेला नलाग्ने

सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा वर्षेनी एक हप्तासम्म लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरी मेला यो वर्ष नलाग्ने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

यो वर्षको जनैपुर्णिमा साउन १९ गते परेको छ । पालिकाले मानिसको भिडभाड हुदाँ कोरोना संक्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो । विभिन्न जिल्लाबाट सर्वसाधरणहरु मेला भर्न पुग्ने गरेका थिए ।

समुन्द्री सहतबाट करिब ४ हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी ५ वटा ताल रहेका छन् । पाँचपोखरीमा जनैपुर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए । पाँचपोखरीको दुई तीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।

पालिकाले पाँचपोखरी क्षेत्रबाहेक अन्य ठाउँहरुमा समेत मेला, जात्रा, पर्वजस्तो मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए । पालिकामा एक जना कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ३३ जना सँक्रमित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *