गण्डकी प्रदेश

पालिकाको केन्द्र छोप्राक मैदानमै राख्न माग गर्दै सिरानचोकबासीले बुझाए ज्ञापनपत्र

गोरखा । सिरानचोक गाउँपालिकाको केन्द्र हाल कायम रहेको छोप्राक मैदानमै राख्न माग गर्दै आइतबार स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । सयौंको संख्यामा उपस्थित स्थानीय जनताले गाउँपालिकाको कार्यपालिकामा पेश भएको प्रस्तावको विरोध गर्दै हाल अस्थायी केन्द्र रहेको स्थानलाई नै स्थायी बनाउन माग गरेका हुन् ।
असार २४ गते बसेको कार्यपालिका बैठकले हाल कायम रहेको छोप्राक मैदान केन्द्र परिवर्तन गरि सिरानचोक गाउपालिका ५ चित्रेपोखरी केन्द्र प्रस्ताव पेश गरेको थियो । नागरिक समाजका संयोजक कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा गाउँपालिका केन्द्र पुगेको टोलीले विरोध प्रदर्शन गदैै अध्यक्ष राजु गुरुङ समक्ष ज्ञापन पत्र बुझाएको हो । पत्रमा अहिले केन्द्र रहेको स्थानमै पालिकालाई पुग्ने जग्गा उपलब्ध गराउन स्थानीय तयार भएको अवस्थामा केन्द्र परिवर्तन नगर्न माग गरिएको संयोजक पाखरेलले बताए । पटक पटक केन्द्र परिवर्तन प्रस्ताव गाउँसभाबाट भइसकेको अवस्थामा फेरि पनि प्रस्ताव ल्याइएकोमा सो प्रस्ताव तत्काल फिर्ता गर्न पनि ज्ञापन पत्रमा भनिएको छ । असार ३१ गते गाउँसभा बैठक बस्दै छ । कार्यपालिका बैठकमा एकल प्रस्तावको रुपमा वडा नं ५ को चित्रे पोखरीलाई केन्द्रको रुपमा प्रस्तुत गरिएको छ । तर सो प्रस्ताव गाउँसभाबाट दुईतिहाई बहुमतले अनुमोदन गर्नु पर्ने हुन्छ । यस अघिका बैठकमा चित्रे पोखरी, छोप्राक मैदान लगाएत चार ठाउँ प्रस्ताव गरिएपनि कुनैले दुईतिहाई बहुमत ल्याउन सकेको थिएनन् ।
असार २४ को बैठकमा १३ सदस्यको समर्थनमा वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर थापाले वडा नम्बर ५ को चित्रेपोखरीमा केन्द्र राख्न प्रस्ताव गरेका थिए । तर वडा नम्बर ४ का अध्यक्ष दीपक हमाल र कार्यपालिका सदस्य शान्ति कुमालले साबिकको छोप्राकमै केन्द्र हुनु पर्ने भन्दै फरक मत दर्ता गराएका छन् भने नेकपाबाट निर्वाचित वडा नम्बर ८ का अध्यक्ष झटकप्रसाद दवाडी भने तटस्थ भूमिका देखिएका छन् ।
गाउँपालिकाको कार्यपालिका बैठकमा बहुमतको समर्थनमा प्रस्ताव पेश गरेपनि कांग्रेस भित्रै किचलोका कारण गाउँसभामा दुईतिहाई पुग्न सक्ने अवस्था छैन । ४३ सदस्यिय सिरानचोकको गाउँसभामा काँग्रेसको २८ सिट छ । समाजवादीले समेत बहुमतलाई समर्थन गर्ने बताएको छ । तर वडा नम्बर ४ का ५ जना चित्रेपोखरीको विपक्षमा रहेकाले उक्त प्रस्तावको अनुमोदनको लागि गाउँसभामा भने ३ सिट अपुग हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *