झापा । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले बताए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको हो ।
कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार, गौरीगञ्ज–१ को एक, शिवसताक्षी–१० का १५ र गौरीगञ्ज–१ का १२ परिवार उच्च जोखिममा छन् । कनकाई नदीमा आएको बाढीका कारण चार घर पूर्णरूपमा क्षति भएको छ । बाढीका कारण शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार विस्थापित भएको छ ।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यही असार १४ गते शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमा कनकाईको बाढी पस्दा पाँच परिवार विस्थापित भएका थिए । विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत सामग्री उपलब्ध गराइएको रेडक्रस सोसाइटी झापाका फोकल पर्सन हरिशरण खड्काले बताए । कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका एक हजार ३१० परिवार बाढीको जोखिममा छन् ।
कनकाई नदीका कारण झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ बढी जोखिममा छन् । भद्रपुर नगरपालिका–३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बेपत्ता भएका छन् । नुहाउन नदीमा पस्दा उनी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




