खेलकुद

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

 

काठमाडौँ  । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजक्तवमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्य सचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयको सूचना जारी गर्दै सदस्य सचिव बन्नका लागि सात दिनभित्र कार्ययोजनासहित दरखास्त पेस गर्न आग्रह गरेको छ । सदस्य सचिवका लागि नेपाली नागरिकताको प्रतिलिपी, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उतीर्ण प्रमाणपत्रको प्रतिलिपी र खेलकुद क्षेत्रमा कम्तिमा पाँच वर्ष काम गरेको प्रतिलिपी पेस गर्न मन्त्रालयले सूचना जारी गरेको छ ।

तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनालाई सिफारिस समितिले अध्ययन गरी थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाएर छलफल गर्ने छ । कार्ययोजना अध्ययनपछि समितिले कार्ययोजनाको आधारमा कम्तीमा एक महिलासहित तीनजनाको नाम बैठकबाट निर्णय गरी मन्त्रालयमा पठाउने छ । नयाँ खेलकूद विकास ऐन, २०७७ यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि नयाँ सदस्य सचिवको नियुक्तिका लागि प्रकृया अघि बढाइएको हो ।

नयाँ सदस्य सचिव छान्न युवा तथा खेलकूद मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिको संयोजकमा मन्त्रालयका सचिव थपिलया तथा सदस्यहरुमा रिम रानाभाट र इन्दिरा निरौला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा मानबहादुर विकेका अनुसार उक्त समितिले सदस्य सचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । सिफारिस गरिएका नाम मध्ये एक जनालाई मन्त्रिपरिषद्ले सदस्य सचिवमा नियुक्त गर्ने प्रावधान छ ।

नयाँ खेलकद ऐन लागु भएपछि राखेपका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललगायत पदाधिकारी पदकमुक्त भएका थिए । मन्त्रालयले मन्त्रालयकै खेलकूद विभाग महाशाखाका प्रमुख समेत रहनुभएका भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सुम्पेको छ । राखेपमा खुला आह्वानबाट सदस्य सचिव नियुक्त हुन लागेको यो पहिलो पटक हो । यसअघि युवा तथा खेलकूद मन्त्रीले नै सदस्य सचिव नियुक्त गर्ने चलन थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *